चितवनमा उपनिर्वाचन हुने क्षेत्रमा सुरक्षामा कडाइ

जनपत्र
१३ मंसिर २०७६, शुक्रबार ०६:२५

चितवन जिल्लाका उपनिर्वाचन हुने क्षेत्रमा सुरक्षामा कडाइ गरिएको छ । यही मङ्सिर १४ गते भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको–४ एवं ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतका अनुसार उपनिर्वाचन हुने क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मौन अवधि शुरु भइसकेकाले ती क्षेत्रमा अवाञ्छित क्रियाकलाप नहोस् भन्नका लागि प्रहरीको गस्तीमा कडाइ गरिएको छ । यस अवधिमा पाँच जनाभन्दा बढी एकै ठाउँमा बस्न र हिँडडूल गर्न प्रतिबन्ध लगाइएको छ । सबै निर्वाचन स्थलहरुमा सुरक्षा पोष्ट खडा गरी प्रहरी बसिसकेको उहाँले जानकारी दिए ।

ती क्षेत्रहरुमा सवारीसाधनबाट गस्ती, पैदल गस्ती तथा आकस्मिक जाँच शुरु गरिएको छ । प्रजिअ बस्नेतका अनुसार शुक्रबार साँझ ६ बजेबाट मतपत्र नउठाउँदासम्म ती क्षेत्रहरुमा प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिँदै छ । सो समयमा अनुमति लिएकाले मात्र निर्वाचन क्षेत्रमा सवारी चलाउन पाइने उहाँले जानकारी दिनुभयो । निर्वाचन हुने क्षेत्रहरुमा बुधबार साँझबाट नै मदिरा उत्पादन, बिक्री वितरण र सेवनमा रोक लगाइएको छ ।

प्रजिअ बस्नेतले निर्वाचनपूर्व गरिने सुरक्षाका सम्पूर्ण कार्य भइरहेको बताए । मतदानका दिन निर्वाचनस्थल भित्र नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र त्यसबाहिर नेपाली सेनाले सुरक्षा दिनेछ । ती सबै क्षेत्रमा राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु खटिएका छन् । एउटा मतदान केन्द्रमा ११ जना नेपाल प्रहरी परिचालन भएका छन् । प्रजिअ बस्नेतका अनुसार कुनै पनि स्थानमा अप्रिय घटना भएमा पाँच मिनेटभित्र पुग्न सक्नेगरी मोबाइल टिम परिचालन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*