‘जोकर’ सँग मिल्छ विपिनको लुक्स ?

हरेक फिल्ममा फरक भूमिका निभाउने अभिनेता विपिन कार्कीको प्रमुख भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउँदैछ । विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको फिल्मलाई ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउत र सुवास थापाले निर्माण गरेका थिए । मंगलबार यो फिल्मको निर्माण टिमले फस्टलुक पोस्टर सार्वजनिक गर्यो ।
पोस्टरमा अभिनेता विपिन फिचर्ड छन् । जसमा उनी भिन्न लुक्समा देखिएका छन् । ओठमा लिपिस्टिक, आँखामा लतपतिएको गाजल र लामो कपालमा देखिएका उनको अनुहारको भावमा पीडा झल्कन्छ । फिल्ममा विपिन हास्यकलाकारको भूमिकामा छन् । उनको गेटअपले पनि त्यो दर्शाउँछ । अहिले ‘सेल्फी किङ’ को पोस्टर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
तर, विपिनको लुक्स हलिउड फिल्म ‘जोकर’ का पात्रसँग दुरुस्तै मिलेको भन्दै टिका टिप्पणी भैसकेको छ । झट्ट हेर्दा, ‘सेल्फी किङ’ मा विपिनको लुक्स ‘जोकर’ का प्रमुख पात्र वाकिन फिनिक्ससँग मिलेको भान हुन्छ । ‘जोकर’ मा वाकिनको अनुहार पूरै विभिन्न रंगले पोतिएको छ भने कपाल लामो छ । विपिन पनि ‘जोकर’ गेटअपमा लामो कपालमा देखिएका छन् ।