चलेन ‘घामड शेरे’ को जादू

करीब ७ वर्षअघिको ब्लकबस्टर फिल्म ‘लुट’ बाट नेपाली फिल्मको नक्सा नै परिवर्तन गरेका निर्देशक निश्चल बस्नेतले पहिलो पटक सोलो हिरोको रुपमा अभिनय गरेको फिल्म ‘घामड शेरे’ दोस्रो हप्तामा प्रदर्शनरत छ । फिल्ममा उनले आफ्नै श्रीमती स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् । लभस्टोरी जनराको फिल्ममा फिट मानिने हेमराज विसीले यो फिल्मको निर्देशन गरेका हुन् ।
‘घामड शेरे’ कात्तिक ८ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, बलिउड फिल्म ‘हाउसफुल ४’ कारण मल्टीप्लेक्समा कम सोज पाएपछि निर्माण टिमले फिल्मको रिलिज दुई हप्ता पछाडि सार्यो । तर, रिलिज पोस्टपोन्ड हुनुअघि गीतसंगीत र ट्रेलरले फिल्मको जुन हाइप निर्माण गरेको थियो, त्यो दुई हप्ता पछाडि सर्दा ध्वस्त भयो । फेरि दोस्रो पटक फिल्मले हाइप बनाउन सकेन ।
फलतः रिलिज डेट पोस्टपोन्ड हुँदाको असर फिल्मको व्यापारमा परेको छ । घोषित मितिबाट दुई हप्ता पछाडि सर्दा फिल्मले मल्टीप्लेक्समा अपेक्षाकृत सोज त पायो, तर दर्शक भर्न सकेन । फिल्मले प्रदर्शनको एक हप्तामा करोडको आँकडा पनि छुन नसकेको जानकारी प्राप्त छ । बरु, ‘घामड शेरे’ भन्दा पाँचौ हप्तामा पनि फिल्म ‘छ माया छपक्कै’ को व्यापार राम्रो छ ।