महिलाले सेयर गरिन् आँखाबाट रगत निस्किएको भिडियो, पति गिरफ्तार

पछिल्लो समय भारतमा महिला हिंसाका घटना बढिरहेका छन् । भारतमा मात्र होइन, भारतीय महिलामाथि विदेशमा भएका हिंसा पनि बाहिर आइरहेका छन् । केही दिनअघि मात्र एक महिलाले आफूमाथि भएको हिंसालाई संकेत गर्दै सामाजिक सन्जालमा आँखाबाट रगत आएको भिडियो सेयर गरेकी थिइन् । अब प्रहरीले उनका पतिलाई अनुसन्धानका लागि गिरफ्तार गरेको छ ।
१२ नोभेम्बरको एउटा ट्विटमा शारजाहकी जैसमिन सुलतानले आफ्नो आँखाबाट रगत आइरहेको भिडियो राखेकी थिइन् । उनले त्यसमा नै प्रहरीसँग सहयोग पनि मागेकी थिइन् । महिलाले आफ्नो ठेगाना, पतिको नाम सबै लेखेर यो ट्विट गरेकी थिइन् । महिलाले उनका पतिले आफूलाई बारम्बार पिट्ने गरेको बताएकी थिइन् । यी महिलाको विवाह भएको ५ वर्ष भइसकेको छ । उनका दुई छोरा पनि छन् ।
जैसमिनले पतिले आफ्नो पासपोर्ट पनि लिएको बताएकी छिन् । उनको घर भारतको बेंगलुरुमा भएको र आफू फर्किन नपाएको पनि त्यही ट्विटमा उनले लेखेकी छिन् ।