इतिहासकारको झोलामा महिलाको हात भेटिएपछि…

जनपत्र
२६ कार्तिक २०७६, मंगलवार ०६:०२

रुसी प्रहरीले एकजना प्रख्यात रूसी इतिहासकारलाई उनको झोलामा महिलाको हात भेटेपछि हत्याको आशंकामा पक्राउ गरेको छ । मदिराको नशामा रहेका ओलेग सोकोलभ मृत महिलाको शरीरका अङ्ग फ्याँक्ने क्रममा खोलामा खसेका थिए । प्रहरीले उनको घरमा छापा मार्दा २४ वर्षीया पूर्व विद्यार्थीको क्षतविक्षत शरीर भेटेको थियो । प्राध्यापक सोकोलभ फ्रान्सेली शासक नेपोलियन बोनापार्टसम्बन्धी विज्ञ थिए । उनले फ्रान्सको सबैभन्दा सर्वोच्च पदक समेत प्राप्त गरेका थिए ।

हत्या गरिएकी महिला सोकोलभको एक प्रकाशनमा सहलेखक रहेकी अनास्तिसिया यस्चेन्कोको भएको बताइएको छ । प्रहरीले नदीबाट एक ६३ वर्षीय पुरुषलाई उद्धार गरिएको र हत्याको आशंकामा पक्राउ गरिएको आफ्नो वक्तव्यमा जनाएको छ । प्रहरी अधिकृतहरूले ती व्यक्ति प्राध्यापक सोकोलभ भएको पुष्टि गरेका छन् ।

सोकोलभले नेपोलियनमाथि थुप्रै पुस्तकहरू लेख्नुका साथै केही फिल्महरूमा इतिहास सल्लाहकारका रूपमा काम गरेका छन् । फ्रान्सको इन्स्टिच्युट अफ सोसल साइन्स, इकोनोमिक्स र पोलिटिक्सका सदस्य रहेका सोकोलभलाई शनिबार सो संस्थाबाट हटाइएको छ । “हामीले ओलेग सोकोलभ दोषी भएको अपराधको बारेमा थाहा पाएका छौँ,” सो संस्थाले एक विज्ञप्तिमा भनेको छ । उनले यस्तो काम गर्लान् भनेर कहिल्यै नसोचिएको वक्तव्यमा जनाइएको छ । (बीबीसी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*