चीनभन्दा भारतमा प्रदुषणः काठमाडौं पनि दुषित सहर !

बेइजिङ धेरै लामो समयदेखि नै खराब हावाका लागि कुख्यात रहँदै आएको छ । तर तथ्याङ्कमा भने भारत, पाकिस्तान र बंगलादेश त्योभन्दा धेरै खराब अवस्थाा रहेको देखिएको छ । यसरी दक्षिण एसिया यति धेरै दूषित हुनु पछाडिको कारण के हो त ? विश्वका सबैभन्दा प्रदूषित तीस सहरहरुमा २२ वटा भारतमै पर्ने आइक्यु एयर भिजुअल रिसर्चले देखाउँछ । उक्त समुहले विश्वव्यापी रुपमा हावाको गुणस्तर मापन गर्ने गरेको छ । यसबाहेका शीर्ष ३० मा पर्ने बाँकी सहर पाकिस्तान, बंगलादेश र चीनमा छन् । तर सो सूचीमा बेइजिङ सहर धेरै पछाडि १२२ औँ नम्बरमा छ । राजधानी सहरकै सूची हेर्दा पनि एसियाली मुलुकहरु नै अगाडि छन् जसमा काठमाडौँ पनि सबैभन्दा दूषितमध्ये सातौँ स्थानमा पर्दछ । ती मध्ये पनि बंगलादेशको हावा विश्वमै सबैभन्दा खराब मानिन्छ जसमा दोस्रो र तेस्रो स्थानमा पाकिस्तान र भारत पर्दछन् । यी सबै सूची एक वर्षभरि हावाको औसत गुणस्तरका आधारमा तयार पारिएका हुन् । नेपाल यसमा आठौँ स्थानमा रहेको छ भने चीन १२ औँ मा पर्दछ ।
सहरी क्षेत्रको प्रदुषण भनेको सवारी साधन, उद्योगबाट निस्कने धुँवाका कारण उत्पन्न हुने गर्दछ । तर यसमा चीन र भारतको प्रदुषणबीचको भिन्नता भनेको भारतमा किसानहरुले खेत खाली गर्न कृषिजन्य फोहोर जलाउने गरेका छन् । जुन जाडोयाम सुरु हुने समयमा सबैभन्दा व्यापक हुन्छ । अर्कोतर्फ चीनमा कृषिजन्य आगजनी निषेधित गरिएको छ जसले नै त्यहाँको प्रदुषण समस्या धेरै हदसम्म समाधान गराएको बताइन्छ ।
नासाले पछिल्लो समय ट्रयाक गरेको आगजनीको डाटामा भारतको उत्तरपश्चिमी क्षेत्र सबैभन्दा प्रभावित रहेको देखाएको हो । यस्तोमा सर्वोच्च अदालतले राजधानी दिल्ली वरपरका क्षेत्रमा कृषिजन्य फोहोर नजलाउन निर्देशन दिइसकेको छ । तर चिसो मौसमले हावाको अवस्था झन बिगार्ने गरेको पाइएको छ । त्यस्तै भारतले सबै घटना भइसकेपछि मात्र उपयुक्त कदम उठाउने गरेको छ भने चीनले चाहिँ पहिले नै सुरक्षित नीति लागु गरि समस्याबाट जोगाउने प्रयासमा लाग्ने विज्ञहरु बताउँछन् । चीनले समस्या नै हुन नदिने किसिमले तयारी गर्ने गरेको पाइएको छ ।
कुनै पनि प्रदूषणको स्तर हावामा हुने विषाक्त तत्वको मापन गरि पत्ता लगाइन्छ । यसपछि हावाको अवस्थालाई राम्रोदेखि अति हानिकारकसम्ममा विभाजित गरिन्छ । तर प्रदूषणको असर सबै मानिसमा एकै किसिमले हुँदैन । जस्तै कसैलाई आँखा पोल्ने, घाँटी दुख्ने हुन्छ भने दम नभएकालाई पनि केही समयका लागि दमको लक्षण देखा पर्न सक्छ र सामान्य अवस्थामा खोकी लाग्ने, एलर्जी हुने हुन्छ । यसरी छोटो समयका लागि दूािषत हावाको सामना गर्नुले पनि अत्यन्तै ठूलो प्रभाव पार्न सक्छ ।
आज युरोप, अमेरिका, अष्ट्रेलियामा प्रदुषणको स्तर एकदम कम छ । तर यी राष्ट्रले पनि कुनै समय भारतकै जस्तो समस्या भोग्नु परेको थियो । जस्तै १९ औँ र २० औँ शताब्दीतिर लन्डनका वासिन्दाको जीवन प्रदूषणकै कारण कठिन बन्न पुगेको थियो । पाँच दिनसम्म लागेको उक्त धुँवाधुलोको बाक्लो तुँवालोलाई ऐतिहासिक मानिन्छ । बीबीसीबाट