समृद्धी प्राप्त गर्ने मात्र नभइ यसको वितरण न्यायोचित हुनुपर्छ–मन्त्री नेपाल

जनपत्र
२१ कार्तिक २०७६, बिहीबार १७:१३

हेटौंडा । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले सम्बृद्धि प्राप्त गर्नुमात्रै वर्तमान मुलभुत उद्देश्य नभइ समृद्धिको वितरण न्यायोचित हुनुपर्ने वताउनुभयो ।

सिंधुलीको दुधौली नगरपालिका वडा नम्बर ४ मा आज दोश्रो दनुवार साँस्कृतिक महोत्सवको उद्घाटन् गर्दै मन्त्री नेपालले भन्नुभयो–‘समृद्धिको पहिलो हिस्सेदार पछाडि परेका जनता हुनुपर्छ । समृद्धिले सबै वर्गलाइ समेट्नुपर्छ भन्ने वर्तमान सरकारको मान्यता हो, हाम्रो गन्तव्य समाजवाद हो ।’

दनुवार संस्कृति लोप हुन दिन नहुने उहाँले वताउनुभयो । आधुनिकताले दनुवार संस्कृतिमाथि प्रहार गर्न दिन नहुने वताउँदै मन्त्री नेपालले भन्नुभयो–‘संस्कृतिको जगेर्ना गरेर दनुवार समुदायको उत्थान गर्न गर्न सकिन्छ, संस्कृतिलाइ ब्राण्डिङ गरेर समृद्धिको यात्रा तय गर्न सकिन्छ ।दनुवार समुदायको हितका लागि प्रदेश सरकारले गर्नुपर्ने कामहरु प्राथमिकताका आधारमा तय गरिने र प्रदेश सरकारको तर्फबाट यथोचित प्रयत्न गरिन्छ ।’ दनुवार समुदायको साँस्कृतिक संग्रहालय निर्माण गर्न क्रमागत रुपमा बजेटको व्यवस्था गर्ने उहाँले जानकारी दिनुभयो ।

विगतमा कमलाखोजको नाममा चिनिने क्षेत्रमा दनुवार जातिको संख्या उल्लेखनिय मात्रामा रहेको वताउँदै मन्त्री नेपालले भन्नुभयो–‘दनुवार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सिन्धुलीको दुधौली नगरपालिकामा दनुवार साँस्कृतिक महोत्सवको आयोजना गरिएको हो ।’

कार्यक्रममा सिन्धुली जिल्लाका सबै प्रदेश सभा सदस्य, पूर्व मन्त्री, पूर्व प्रतिनिधिसभा सदस्यहरु, नगरप्रमुख, जनप्रतिनिधिहरु, पार्टि प्रतिनिधिहरु, विभिन्न जिल्लाका दनुवार समुदायको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*