‘घामड शेरे’ विवाद : निर्देशक विसी भन्छन्, ‘ज्यान मार्ने धम्की आयो’
अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको फिल्म ‘घामड शेरे’ ले अहिले तनावै तनावको सामना गर्नुपरेको छ । मल्टीप्लेक्समा कम सोज पाएपछि कात्तिक ८ बाट हुत्तिएर दुई हप्ता पछाडि ‘कात्तिक २२’ धकेलिएको यो फिल्म यतिबेला विवादमा तानिएको छ । फिल्ममा निश्चलले निर्वाहा गरेको पात्र ‘शेरे’ को नाम कांग्रेस सभापति शेरबहादुर देउवासँग जोडेर सामाजिक सञ्जालमा ट्रोल बनेपछि फिल्म विवादमा झेलिरहेको हो ।
सामाजिक सञ्जालमा फिल्मको पोस्टर र नेता देउवाको फोटो जोडेर बनेका ट्रोल केही दिनयता निकै भाइरल भएका छन् । यसले नेता देउवाको व्यक्तित्वमा आँच पुगेको भन्दै कांग्रेसको भातृ संगठन नेवि संघले सुदूरपश्चिममा फिल्म प्रदर्शन नै गर्न नदिने घोषणा गरेको छ । त्यस्तै, निर्माण टिमलाई सामाजिक सञ्जालमा विभिन्न खाले धम्की पनि आएको छ । फिल्मका निर्देशक हेमराज विसीले केही दिनदेखि आफूलाई फेसबुकमा ज्यान मार्ने धम्की आइरहेको बताए ।







