पत्याउनुहुन्छ ? ‘पोइ पर्यो काले’ को एक हप्ते कमाई
दिपावलीको अवसरमा प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘पोइ पर्यो काले’ ले एक हप्तामा सानदार व्यापार गरेको वितरकले दाबी गरेका छन् । काठमाडौं उपत्यकाभित्रका वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले फिल्मले एक हप्तामा काठमाडौंभित्र १ करोड ९५ लाखको व्यापार गरेको बताएका छन् । त्यस्तै, उपत्यका बाहिरका वितरक रोहित कट्टेलले फिल्मको एक हप्ते कमाई १ करोड १० लाख रहेको दाबी गरे ।
वितरकका अनुसार, फिल्मले एक हप्तामा देशभर गरि ३ करोड ५ लाख छापेको छ । तर, फिल्मको यो व्यापारिक आँकडालाई सत्य मान्न गाह्रो छ । बलिउड फिल्म ‘हाउसफुल ४’ का कारण मल्टीप्लेक्समा फिल्मले सुरुवाती दिनमा खासै राम्रो व्यापार गर्न सकेन । अझै पनि मल्टीप्लेक्समा ‘हाउसफुल ४’ कै दबदबा छ । त्यसमाथि दशैंको नेपाली फिल्म ‘छ माया छपक्कै’ मा दर्शकको भीड अझै कम भएको छैन ।







