बार्सिलोनाको जितमा मेसीको दुई गोल

कप्तान लियोनेल मेसीको दुई गोलप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा रियाल भालाडोलिडलाई ५-१ को नतिजामा पराजित गरेको छ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा साबिक विजेतालाई विजयी बनाउन क्लिमेट लङलेट, लुइस स्वारेज र अर्टूरो भिडालले एक-एक गोल गरे।
लङलेटले दोस्रो मिनेटमा गरेको गोलबाट अग्रता लिएको बार्सिलोनाले १५औं मिनेटमा गोल खाँदै अग्रता गुमाएको थियो।
भालाडोलिडका लागि किको ओलिभासले बराबरी गोल फर्काएका थिए।
२९औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ अग्रता दिलाएका मेसीले ७५औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे।
७७औं मिनेटमा स्वारेजले गरेको गोलसँगै बार्सिलोनाले सहज जित सुनिश्चित गर्यो।
जितसँगै १० खेलमा २२ अंक जोडेको बार्सिलोना लिग तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको ग्रानडाको समान खेलबाट २० अंक छ।
एक खेल कम खेलेको रियाल मड्रिडको १८ अंक छ।