थोरै फिल्म बनाउँछु, तर फरक बनाउँछु : निश्चल

चलचित्र विकास बोर्डले नेपाली फिल्म क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारी गरिरहेको अवस्थामा निर्देशक निश्चल बस्नेतले फिल्म ‘लुट’ लिएर आएका थिए । यो फिल्मले संकटकाल लगाउने तयारीलाई मात्र रोकेन नेपाली फिल्ममा कथा भन्ने शैली पनि परिवर्तन गर्यो । यसले घरेलु बजारबाट नेपाली फिल्मले कतिसम्म कमाउन सक्छ भन्ने आँकडा पनि पेश गरेको थियो । त्यसैले ‘लुट’ लाई नेपाली फिल्मको कोशेढुंगा मानिन्छ ।
‘लुट’ पछि निर्देशक बस्नेतले द्वन्द्वकालिन घटनामाथि फिल्म ‘टलकजंग भर्सेस टुल्के’ बनाए । परम्परागत शैलीभन्दा फरक ढंगबाट बनाइएको यो फिल्मले दर्शक र समीक्षक दुबैको मन जित्यो । फिल्मले बक्सअफिसमा पनि नाफाको व्यापार गरेको थियो । यसपछि उनी लामो समय फिल्म निर्देशनबाट टाढा रहे । ‘दिमाग खराब’ नाममा फिल्म बनाउने चर्चा चलिरहँदा उनी ‘लुट’ को सिक्वेल लिएर फर्किए ।
‘लुट २’ ले बक्सअफिसमा राम्रो व्यापार गरे पनि निर्देशक बस्नेतको निर्देशकिय क्षमताको तारिफ भएन । ‘लुट’ को ब्याज खानकै लागि मात्र फिल्म बनाएको भन्दै उनको चर्को आलोचना भयो । निर्देशक निश्चल बस्नेतले पनि फिल्ममा कथा भन्न आफू चुकेको स्वीकार गरिसकेका छन् । ‘लुट २’ बाट ‘घैँटोमा घाम’ लागेको बताउने उनी अब कथाले आफूलाई छुन सकेमात्र फिल्म बनाउने अडान लिएर बसेका छन् ।