दसैँभर प्रदेश ३ का १० जिल्लामा एक सय ३४ पक्राउ

हेटौंडा । दसैँभर प्रदेश ३ का १० जिल्ला ९काठमाडौं, ललितपुर, भक्तपुरबाहेक०मा एक सय ३४ जना पक्राउ परेका छन् । विभिन्न आठ प्रकृतिका एक सय ४८ मुद्दामा उनीहरूलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेकाहरू ज्यानसम्बन्धी २५ मुद्दामा २५ जना, आत्महत्यासम्बन्धी २१ मुद्दामा आठजना, चोरीसम्बन्धी चार मुद्दामा तीनजना, संगठित तथा आर्थिक अपराधसम्बन्धी १८ मुद्दामा १८ जना, सामाजिक अपराधसम्बन्धी ५० मुद्दामा ५० जना पक्राउ परेका छन् । यस्तै, महिला तथा बालबालिकासम्बन्धी १३ मुद्दामा १३ जना, सवारीसम्बन्धी १६ मुद्दामा १६ जना र विविध चन्दासम्बन्धी एक मुद्दामा एकजनालाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
प्रहरीले दसैँमा हुने सम्भावित सामाजिक अपराध, सवारीसाधन, चन्दा, संगठित तथा आर्थिक अपराध रोक्न विभिन्न रणनीतिक योजना तयार पारेर कार्यान्वयनमा ल्याउने गरिएको दाबी गरे पनि यिनै घटनाको संख्या तथ्यांकमा सबैभन्दा धेरै देखिन्छ । आठ प्रकृतिका अपराधमध्ये सबैभन्दा धेरै सामाजिक अपराधसम्बन्धी मुद्दा ५० वटा छन् ।
चितवन र मकवानपुरमा सबैभन्दा बढी
प्रारम्भ भएदेखिका १५ दिनमा प्रदेश ३ प्रहरी कार्यालयमातहत रहने जिल्लामध्ये सबैभन्दा बढी चितवन र मकवानपुरमा अभियुक्त पक्राउ परेका छन् । कार्यालयको तथ्यांकअनुसार चितवनमा ५० वटा मुद्दामा ६७ र मकवानपुरमा ५२ वटा मुद्दामा ६६ जना अभियुक्त पक्राउ परेका हुन् । सिन्धुली, रसुवा, काभ्रे, सिन्धुपाल्चोक र रामेछापमा एक–एकजना अभियुक्त पक्राउ परेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकमा धादिङमा चारवटा मुद्दामा तीन, नुवाकोटमा १२ वटा मुद्दामा सातजना र दोलखामा दुईवटा मुद्दामा चारजना पक्राउ परेको उल्लेख छ ।
जनतामा प्रहरीको पहुँच बढेको दाबी
कार्यालयका प्रवक्ता, एसपी अरुण पौडेलले जनतामा प्रहरीको पहुँच बढ्दा बढी पक्राउ परेको बताए । अरू समयमा भन्दा दसैँतिहार शान्ति सुरक्षा मजबुत बनाउन आवश्यक रहेकाले त्यसलाई मध्यनजर गर्दै प्रहरीले विभिन्न रणनीतिक योजना बनाएर काम गरिरहेको उनको भनाइ छ । ‘घटनाको स्थिति बर्सेनि समान नै रहन्छन् । तर, पछिल्लो समय जनतासम्म प्रहरी पहुँच बढेका कारण केही साना घटना हुँदा पनि प्रहरीलाई खबर हुने भएकाले पक्राउको संख्या बढेको हो,’ एसपी पौडेलले भने । आजको नयाँ पत्रिका दैनिकमा सुदीप शिवाकोटीले लेखेको समाचार हामिले साभार गरेका हौं ।