‘छ माया छपक्कै’ चल्दा केकीलाई फाइदा
नेपाली फिल्म क्षेत्रमा केकी अधिकारीलाई बौद्धिक अभिनेत्रीको रुपमा चिनिन्छ । विभिन्न विषयमा उनले राख्ने गहन विचारले धेरैलाई एकपटक सोच्न बाध्य बनाउँछ । तर, उनको फिल्मी करिअर भने उत्ति साह्रो सुखद छैन । उनी नेपाली फिल्ममा आबद्ध भएको करीब एक दशक वितिसकेको छ । अहिलेसम्म उनले दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । तर, बक्सअफिसमा कुनै सफल भएनन् ।
फिल्म असफल भए पनि उनी काम विहीन भने कहिल्यै हुनु परेन । सानातिना बजेटका फिल्म उनले बाक्लै पाउँदै आएकी छन् । लिड रोलदेखि केमियो रोलसम्म सबै गरिसकेकी उनलाई एक समय नेपाली फिल्मको उदाउँदो नक्षत्रको रुपमा हेरिएको थियो । उम्दा अभिनयका कारण दर्शकको मनमा डेरा जमाएकी उनले गुणस्तरमा नभइ संख्यात्मक अभिनयमा जोड दिँदा लोभलाग्दो चार्म र स्टारडम धेरै समय टिकाइराख्न सकिनन् ।
गएको एक दशकमा सोलो अभिनेत्रीको रुपमा एउटा सुपरहिट फिल्म दिन नसकेकी उनलाई हाल हलमा प्रदर्शनरत फिल्म छ माया छपक्कै’ ले भने ठूलो राहत दिएको छ । यो फिल्मले प्रदर्शनको दिनदेखि बक्सअफिसमा राम्रो पैसा छापेको छ । अभिनेता दीपकराज गिरीको अपोजटमा अभिनय गरेकी उनको अभिनयको पनि प्रशंसा भइरहेको छ । पहिलो हप्ताको कमाईबाट यो फिल्मको लगानी सुरक्षित हुने देखिन्छ ।







