सीको नेपाल भ्रमणबारे यसो भने अन्तर्राष्ट्रिय मिडियाले

जनपत्र
२८ आश्विन २०७६, मंगलवार ०७:३५

चीनका राष्ट्रपति सी जिनपिङको आइतबार सम्पन्न नेपालको दुई दिने राजकीय भ्रमणले अन्तर्राष्ट्रिय मिडियामा पनि निकै चर्चा पाएको छ । अल जजिराले नेपाल र चीनबीच व्यापार, पूर्वाधार तथा सुरक्षा सम्बन्धी विषयमा हस्ताक्षर भएको जनाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उद्धृत गर्दै समाचारमा भ्रमण ऐतिहासिक भएको उल्लेख गरिएको छ ।

अल जजिराले भारतका लागि पूर्वराजदूत लोकराज बराललाई समेत उद्धृत गर्दै उनले नेपालले दुवै छिमेकीसँग सन्तुलन ल्याउन होसियार भएर अघि बढ्नुपर्ने बताएको उल्लेख गरेको छ । उनले भूराजनीतिक हिसाबले निकै महत्वपूर्ण स्थानमा नेपाल रहेकोले होशियारीपूर्वक चल्नुपर्ने र एकका विरुद्ध अर्कालाई खेलाउने काममा लाग्नु नहुने जनाएको पनि समाचारमा उल्लेख छ ।

सोही समाचारमा बैंगलोरस्थित तक्षशीला इन्स्टिच्युटका फेलो मनोज केवलरमानीले भारतका दृष्टिकोणबाट हेर्दा छिमेकमा कसरी अवस्था फेरिँदै गएको छ भन्ने कुरा सीको भ्रमणबाट देखिने जनाएका छन् । भारतकै पत्रिका इन्डिया टुडेले दुई देशबीच रेलमार्गको फिजिबिलिटी स्टडी गर्ने लगायतका विषयमा सहमति भएको जनाएको छ । क्यानडाको टोरन्टो स्टारले समेत नेपाल र चीनको सहमतिको चर्चा गरेको छ ।

बीबीसीले चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणका क्रममा चीन विभाजन गर्न खोज्नले ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएको कुरालाई समाचारमा समावेश गरेको छ । सीसीटिभीको समाचारलाई उद्धृत गर्दै बीबीसीले हङकङको मामिलालाई लिएर त्यसो भनिएको हुनसक्ने जनाइएको छ । चीनका राष्ट्रपतिको भनाइबाट सुरु गरिएको लामो समाचारमा धेरै चर्चा भने हङकङका गतिविधिलाई लिएर भएको छ । चीनकै समाचार एजेन्सी सिन्ह्वाले राष्ट्रपतिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार भेटघाट गर्दा चीनको विभाजनको प्रयास व्यर्थमा अन्त्य हुने बताएको उल्लेख गरेको थियो ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले राष्ट्रपति सीको नेपाल भ्रमणले चीन र नेपालको सम्बन्ध अपग्रेड९स्तरोन्नती० भएको जनाएको छ । सो समाचारमा नेपालका प्रधानमन्त्री र चीनका राष्टपतिले एक आपसमा समातेर बसेको फोटो प्रकाशित भएको छ । सो समाचारमा राष्ट्रपतिले चीन विभाजन गर्न चाहनेको अन्त्य हुने जनाएको उल्लेख गर्दै नेपालका प्रधानमन्त्रीले एक चीन नीतिप्रति प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ ।

सोही समाचारमा सिचुवान प्रान्तस्थित चाइना सेन्टर अफ साउथ एशिया स्टडीजका प्राध्यापक दाइ योङहोङलाई उद्धृत गर्दै नेपालबाट राष्ट्रपति सीले तिब्बती पृथकतावादीलाई मात्रै होइन सिन्जीयाङ प्रान्त, हङकङ र ताइवानका पृथकतावादीलाई पनि चेतावनी दिएको जनाइएको छ ।

नेपाल चीन र तिब्बतको विशेष भूरणनीतिक अवस्थामा रहेको र भारत तथा अमेरिका नेतृत्वका पश्चिमा शक्तिले नेपालका निश्चित शक्तिलाई प्रयोग गर्न सक्ने अवस्था रहेकोले सीले त्यसप्रकारको चेतावनी दिएको हुन सक्ने ती प्राध्यापकले व्याख्या गरेका छन् । चीन र नेपालका नेताहरुले दिएको अभिव्यक्ति नेपालको भूरणनीतिक महत्वलाई शोषण नगर भनेर पश्चिमा शक्तिलाई चेतावनी दिनु पनि भएको ती प्राध्यापकको भनाई रहेको छ । बाह्रखरीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*