पानी परेपछि मकवानपुरका बारीमा मकै रोप्ने चटारो
हेटौंडा । केही दिन अघि परेको झरीसँगै मकवानपुरका ग्रामीण भेगका किसानहरू मकै रोप्ने चटारोमा लागेका छन्। लामो समयसम्म सुख्खा हुँदा चिन्तित बनेका किसानहरू पानी परेपछि भने राहत महसुस गर्दै बारी जोत्न र मकै छर्न व्यस्त भएका हुन्।
हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोवर, राक्सिराङ, कैलाश, बकैया, मनहरी लगायतका क्षेत्रका बारीहरूमा यतिबेला बिहानदेखि बेलुकासम्म किसानको चहलपहल बढेको छ। वर्षाको सुरुवाती पानीले माटो भिजेपछि मकै रोप्न उपयुक्त समय भएको भन्दै किसानहरू परिवारसहित खेतबारीमा जुटेका छन्।
मकवानपुरगढी गाउँपालिकाका ५ का उमेश तामाङले भने, “धेरै दिनदेखि पानी नपरेर मकै रोप्न पाएका थिएनौं, अहिले पानी परेपछि भने काम गर्न सजिलो भएको छ।” उनका अनुसार समयमै पानी परे उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ।
स्थानीय तहका कृषि प्राविधिकहरूका अनुसार मकै रोप्नका लागि चैत–बैशाख उपयुक्त समय मानिन्छ। यस समयमा परेको पानीले माटोमा पर्याप्त चिस्यान पुग्ने भएकाले बिउ उम्रिन सहज हुने बताइन्छ।
यद्यपि, निरन्तर वर्षा वा अत्यधिक पानी परेमा भने बालीमा असर पर्ने सम्भावना रहने कृषि विज्ञहरू बताउँछन्। त्यसैले किसानलाई आवश्यक सल्लाहअनुसार मात्रै खेती गर्न सुझाव दिइएको छ।
मकवानपुरमा मकै मुख्य खाद्यान्न बालीका रूपमा उत्पादन हुँदै आएको छ। यहाँ उत्पादन भएको मकै घरेलु उपभोगसँगै पशुपालनका लागि पनि महत्वपूर्ण मानिन्छ।
यस वर्ष समयमै वर्षा सुरु भएकाले मकै उत्पादनमा वृद्धि हुने अपेक्षा किसानहरूले गरेका छन्। अहिले किसानहरू बारी तयारी, मल व्यवस्थापन र बीउ छर्ने काममा व्यस्त देखिएका छन्।







