मकवानपुर–१ मा गठबन्धनलाई पराजित गर्ने दीपकबहादुर सिंहको यसपटक धरौटी नै जफत
हेटौंडा । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनलाई हराउँदै मकवानपुर–१ बाट निर्वाचित भएका दीपकबहादुर सिंहको धरौटी जफत भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सिंहले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा तात्तकालीन नेकपा (माओवादी), एकीकृत समाजवादीलगायतका दलको गठबन्धनमा साझा उम्मेदवार बनेकी कांग्रेसकी महालक्ष्मी उपाध्यय डीनालाई पराजित गरेका थिए।
विजयी भएका उनले २७ हजार ८१६ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसकी डीनाले २५ हजार ४३४ मत प्राप्त गरेकी थिइन्। सिंहले डीनालाई २ हजार ३८२ मतान्तरले पराजित गरेर पहिलो पटक संसदीय यात्रा तय गरेका थिए। बिहीबार सम्पन्न निर्वाचनमा पनि दुवैजना प्रतिस्पर्धामा थिए।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का प्रकाश गौतम विजयी हुँदा डीनाले १४ हजार मत प्राप्त गरेर दोस्रो भइन्। तर गत निर्वाचनमा आफू निर्वाचित भएर डीनालाई दोस्रो बनाएका राप्रपाका सिंहको भने यो पटक धरौटी पनि जोगिएन।
यस क्षेत्रमा प्रत्यक्षतर्फ खसेको कुल ९५ हजार ३१० मतमा राप्रपाका सिंहले ४ हजार ५७४ मत मात्रै प्राप्त गरेका हुन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारले कुल सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउनुपर्छ। त्यसो गर्न नसके धरौटी जफत हुन्छ।
यस क्षेत्रमा खसेको ९५ हजार ३१० मतमा ४ हजार ५८५ मत बदर हुँदा ९० हजार ७२५ मत सदर भएको थियो। यो आधारमा जमानत जोगाउन कम्तीमा ९ हजार ७३ मत ल्याउनुपर्ने हुन्छ। तर, सिंहले ५ हजार पनि कटाउन सकेनन्।
२०५४ सालमा पहिलोपटक हेटौंडाको मेयरमा राप्रपाबाट चुनाव लडेका सिंह एमालेका डोरमणि पौडेलसँग पराजित भएका थिए। २०५६ सालको प्रतिनिधिसभामा मकवानपुर–२ मा उम्मेदवार बनेका सिंह एमालेका विरोध खतिवडासँग पराजित भएका थिए।
२०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर–३ एमालेका अनन्तप्रसाद पौडेलसँग पराजित भएका थिए। प्रतिनिधि सभादेखि संविधान सभासम्मको चुनाव लडेका सिंह २०७९ वैशाखको स्थानीय तह निर्वाचनमा पुनः हेटौंडा उपमहानरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराए। तर चौथो पटकमा पनि सफलता मिलेन।
सोही वर्ष मंसिर ४ मा मकवानपुर–१ बाटै प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बने। पटक÷पटक मतदाताको दैलो पुगेर जिताइदिनोस् भन्दै हात जोडिरहेका सिंहलाई पाँचौ पटकमा मकवानपुरका मतदाताले पत्याइदिए।
सिंह अघिल्लो निर्वाचनमा आएको जनमतलाई आधार मानेर यो पटक पनि विजयी हुने लक्ष्य सहित चुनावी मैदानमा होमिएका थिए। अघिल्ला निर्वाचनमा राप्रपालाई आएको मत रास्वपातिर जाँदा यस्तो स्थिती बनेको राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष सागर थापा बताउँछन्।
सिंहले गत निर्वाचनमा निर्वाचित भएपछि मकवानपुरको विकासका लागि धेरै योगदान दिए पनि रास्वपाको लहरका कारण पछि पर्नु परेको थापाको भनाइ छ। ‘पछिल्लो समय नेताहरुप्रति मतदाताको वितृष्णा बढेको पनि हो,’ उनले भने, ‘मकवानपुरको लागि मात्रै नभएर देशकै लागि चाहिने बुलन्द आवाज भएका उम्मेदवारले हार्नु पर्यो। उहाँको पराजयले मकवानपुरको विकास पछाडि पर्यो।’ नेपाल खवरबाट साभार ।







