ओली पराजयपछि वरिष्ठ अधिवक्ता बाबुराम दाहालको सुझावः ‘सच्चिनुस्, नत्र पार्टी अझ सक्किन्छ’

जनपत्र
२३ फाल्गुन २०८२, शनिबार २०:३०

काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट पराजित भएको र समग्र पार्टीले पनि ठूलो धक्का बेहोरेको भन्दै वरिष्ठ अधिवक्ता बाबुराम दाहालले सार्वजनिक रूपमा नेतृत्व सुधारका लागि सुझाव दिएका छन्।

पूर्वप्रधानमन्त्री ओली प्रधानमन्त्री रहेका बेला २०७६ साउन २९ देखि २०७८ असार २८ सम्म अवैतनिक सल्लाहकार समूहमा रहेका दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो टिप्पणी गर्दै अध्यक्ष ओलीलाई पार्टी सुधारका लागि विभिन्न सुझाव दिएका हुन्।

दाहालले २०३४ सालदेखि निरन्तर एमालेसँग आबद्ध रहेको स्मरण गराउँदै अध्यक्ष ओली झापा–५ बाट पराजित भएको र पार्टीले समग्र रूपमा हार व्यहोरेको खबरले आफूलाई निकै दुःख लागेको उल्लेख गरेका छन्। “राजनीतिमा जीत–हार सामान्य भए पनि सिंगो पार्टी पराजित हुँदा गहिरो चोट लागेको छ,” उनले लेखेका छन्।

दाहालले आफू ओली नेतृत्वको सल्लाहकार समूहमा रहेर इमान्दारीपूर्वक काम गरेको उल्लेख गर्दै अहिलेको परिस्थितिमा पार्टी पुनः उकास्न केही सुझाव दिन खोजेको बताएका छन्। उनले २०७८ असार २८ पछि भने ओलीलाई आफूले भेट्न नखोजेको पनि स्पष्ट पारेका छन्।

उनका अनुसार अहिले पार्टीबाट कोही बाहिरिएको नभई मत मात्र यताउता भएको हो, जसलाई पुनः फर्काउन सकिने सम्भावना अझै रहेको छ। त्यसका लागि नेतृत्वले तत्काल सुधारका कदम चाल्नुपर्ने उनले बताएका छन्।

फेसबुक स्टाटसमा दाहालले अध्यक्ष ओली वरिपरि रहेका केही व्यक्तिहरूले पार्टीलाई नोक्सान पुर्‍याइरहेको आरोप लगाएका छन्। ओलीकी धर्मपत्नी राधिका शाक्य बाहेक वरिपरि रहेका धेरै मानिसहरू पूर्ण रूपमा विश्वसनीय नभएको उनको दाबी छ।

त्यस्तै उनले अध्यक्ष ओलीले वरिपरि राखेका केही व्यक्तिलाई “दुष्ट र असहिष्णु” भन्दै त्यस्ता मानिसलाई जिम्मेवारीबाट हटाउन सुझाव दिएका छन्। पार्टीलाई बलियो बनाउन तत्काल विशेष महाधिवेशन बोलाएर काम नलाग्ने केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरू फेर्नुपर्ने उनको सुझाव छ।

दाहालले पार्टीमा ‘चाप्लुसी संस्कृति’ बढेको आरोप लगाउँदै नेतृत्वले आँखामा आँखा जुधाएर सत्य बोल्न सक्ने योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने बताएका छन्। उनले पार्टी कार्यालयलाई कार्यकर्तामैत्री बनाउन, हाकिमजस्तो व्यवहार गर्ने प्रवृत्ति अन्त्य गर्न र कार्यकर्तासँग नेतृत्वको दूरी घटाउनुपर्ने पनि उल्लेख गरेका छन्।

उनले पार्टीभित्र गालीगलौजको राजनीति अन्त्य गर्नुपर्ने र सार्वजनिक रूपमा मतदातालाई गाली गर्ने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिएका छन्। साथै राति अबेरसम्म चाप्लुसी गर्न आउने व्यक्तिसँग भेटघाट नगर्न पनि उनले ओलीलाई सुझाव दिएका छन्।

दाहालले पार्टीभित्र नेतृत्व र कार्यकर्ताबीच तालमेल कमजोर भएको टिप्पणी गर्दै पार्टी विधानअनुसार स्वतन्त्र निर्वाचनमार्फत नेतृत्व चयन हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताएका छन्।

स्टाटसको अन्त्यमा उनले अध्यक्ष ओलीलाई चेतावनीसहित सुझाव दिएका छन्। “प्रिय युवा जोश भएका अध्यक्षज्यू, कि सच्चिनुस्, कि अझ बढि सक्किनुस्, पार्टीलाई पनि सक्काउनुहोस्,” उनले लेखेका छन्।

दाहालको यो टिप्पणी सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा भइरहेको छ। एमाले नेतृत्वको चुनावी हारपछि पार्टीभित्र सुधारको बहस चर्किरहेका बेला उनको सुझावलाई धेरैले अर्थपूर्ण टिप्पणीका रूपमा लिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*