मकवानपुरका दुई निर्वाचन क्षेत्रको मतगणना सुरु

जनपत्र
२२ फाल्गुन २०८२, शुक्रबार १३:१३

हेटौंडा । मकवानपुरका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । हिजो सम्पन्न मतदानपछि मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरी मतगणना स्थलमा ल्याइए पनि आज भने केही ढिलो गरी मतगणना सुरु गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलमा ल्याइसकिएको थियो। मतपेटिका प्राप्त भइसकेपछि सर्वदलीय बैठक, आवश्यक तयारी तथा व्यवस्थापनका काम सम्पन्न गरी आज ढिलोगरी दिउसो देखि मतगणना प्रक्रिया सुरु गरिएको हो।

मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन तारजालीसहितको मतगणना कक्ष, सीसीटिभी निगरानी तथा सुरक्षाकर्मीको कडा व्यवस्थासहित गणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ। प्रत्येक वडाको मतपेटिका छुट्टाछुट्टै खोली गणना गर्ने व्यवस्था मिलाइएको छ।

जिल्लामा रहेका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना एकैसाथ सुरु भएको र क्रमशः परिणाम सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनास्थलमा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको छ।

निर्वाचन कार्यालयका अनुसार मतगणनाको प्रारम्भिक परिणाम केही समयपछि सार्वजनिक हुन सुरु हुने अपेक्षा गरिएको छ। जिल्लामा शान्तिपूर्ण रूपमा सम्पन्न मतदानपछि अब सबैको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*