नीति निर्माणदेखि पर्यटन सम्मः एमाले उम्मेदवार महेश बतौलाको यस्तो छ समृद्धि रोडम्याप
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश कुमार बतौलाले आफ्नो निर्वाचन क्षेत्रका जनतामाझ संसदीय जिम्मेवारीमार्फत नीति निर्माण र विकासका लागि विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार बतौलाले संसदमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै क्षेत्रको दीर्घकालीन विकास, सामाजिक न्याय र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट योजना प्रस्तुत गरेका हुन्।
उनले मध्यवर्ती क्षेत्रका समस्याको दिगो समाधानका लागि भूमि समस्या समाधानको कानुनी सुनिश्चितता, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा क्षतिपूर्तिको व्यवस्था र मध्यवर्ती क्षेत्रको सिमाना हेरफेरका लागि पहल गर्ने बताएका छन्।
पूर्वाधार विकासतर्फ जनसरोकारका खानेपानी, सिँचाइ, कृषि तथा सञ्चार पूर्वाधार, बस्ती संरक्षण तटबन्धन, सडक र पुल निर्माणलाई प्राथमिकता दिइने उनले उल्लेख गरे। विशेषगरी मनहरी–राक्सिराङ–कैलाश–थाहा जोड्ने रूपचन्द्र विष्ट मार्ग निर्माणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन्।
कृषि क्षेत्रको सुदृढीकरणलाई केन्द्रमा राख्दै दुग्ध तथा मासुजन्य उत्पादनको बजार विस्तार, ‘खोरेतमुक्त मकवानपुर’ अभियान सञ्चालन तथा वन्यजन्तुबाट हुने कृषिक्षतिको कानुनी व्यवस्थापन गर्ने बताइएको छ। सहकारी, कृषि र वन स्रोतको उपयोगमार्फत रोजगार तथा स्वरोजगार सिर्जना गर्दै गरीबी न्यूनीकरणमा योगदान पुर्याउने उनको योजना छ।
समृद्धि विशेष कार्यक्रम अन्तर्गत राक्सिराङ र कैलाश गाउँपालिकामा लक्षित कार्यक्रम सञ्चालन गर्ने तथा थाहा, इन्द्रसरोवर र भीमफेदी गाउँपालिकालाई समेटेर उत्तरी मकवानपुर पर्यटन सर्किट निर्माणमा पहल गरिने उनले जनाएका छन्।
शिक्षा, युवा तथा खेलकुद क्षेत्रमा एक पालिका एक आवासीय विद्यालय निर्माण, “पढ्दै, कमाउँदै” कार्यक्रमको कार्यान्वयन, मदन भण्डारी क्षेत्रीय रंगशाला निर्माण, युवा उद्यम प्रवर्द्धन तथा चेपाङ विकास कार्यक्रम सञ्चालनमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
त्यसैगरी नीति तथा कानून निर्माणमा जनसहभागिता सुनिश्चित गर्ने, महिला, दलित, सिमान्तकृत समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण गर्ने, लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि कानुनी संयन्त्र सुधार गर्ने र निर्वाचन क्षेत्र विकास कार्यक्रम लागू गर्न पहल गर्ने उनले बताएका छन्।
स्थानीय तह, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै मकवानपुरमा उद्योगधन्दा र लगानीको वातावरण निर्माण गरी आर्थिक गतिविधि विस्तार गर्ने उनको प्रतिबद्धतामा उल्लेख छ। उम्मेदवार बतौलाले आफ्नो चुनाव चिन्ह ‘सूर्य’ रहेको स्मरण गराउँदै संसदीय जिम्मेवारीलाई जनताको विकास आकांक्षासँग जोडेर अघि बढ्ने अठोट व्यक्त गरेका छन्।







