हेटौंडामा पार्किङ गरिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
हेटौंडा । मकवानपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। हेटौंडा उपमहानगरपालिका–५ पिप्ले स्थित कान्तिलोकपथ सडकखण्डमा दुर्घटना भएको हो।
सडक छेउमा पार्किङ गरी राखिएको ना ५ ख १८६१ नम्बरको रड लोड भएको ट्रकमा सानोपोखराबाट पिप्ले तर्फ जाँदै गरेको ना २९ प ७०७२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइते मोटरसाइकल चालकलाई स्थानीयले प्रहरी पुग्नु अघि नै उपचारका लागि हेटौंडा अस्पताल पठाएका थिए। अनुहारमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा राति करिब १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रारम्भिक रूपमा नामथर नखुलेका मृतकको पछि परिचय खुल्दा हेटौंडा–५ पिप्ले ढुंगेधारा बस्ने ३६ वर्षका सुवास थिङ रहेको पुष्टि भएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल, ट्रक तथा ट्रक चालक स्याङ्जा वालिङ नगरपालिका–२ बस्ने अन्दाजी ५५ वर्षीय किसन बहादुर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।







