मध्यवर्तीको सीमा महेन्द्र राजमार्गबाट चुरेमा सार्नुपर्छ– महेश बर्तौला

जनपत्र
१ फाल्गुन २०८२, शुक्रबार १८:१९

हेटौंडा,। नेकपा (एमाले) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश कुमार बर्तौलाले मध्यवर्ती क्षेत्रको विद्यमान सीमा विवाद समाधानका लागि यस्को सिमा महेन्द्र राजमार्गबाट हटाएर मानव वस्ती बाहिर चुरेको डाँडामा पुर्‍याउनुपर्ने बताउनुभएको छ । निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत मनहरीका विभिन्न वडामा पुगेर जनताको गुनासो सुन्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

भेटघाटका क्रममा मनहरी–७ बेलुवाकी कविता क्षेत्रीले निकुञ्जबाट आउने जङ्गली जनावरले खेतीबाली नष्ट गरेको र २५० भन्दा बढी धुरीले खेतबाट उत्पादन उठाउन नपाएको पीडा सुनाउनुभयो । यस्तै, एमाले नेता शिव कुमार काशीले वन्यजन्तु र मानव बीचको द्वन्द्व व्यवस्थापन, राप्तीको तटबन्धन र धनीपुर्जाको अवस्थाबारे उम्मेदवारको ध्यानाकर्षण गराउनुभएको थियो । छलफलका क्रममा उठेका जिज्ञासा र वस्तुस्थितिबारे जानकारी दिँदै एमालेका निर्वाचन फोकल पर्सन आशिष अस्लामीले मध्यवर्तीको समस्या र भूमिहीनको मुद्दा नै निर्वाचनको मुख्य एजेन्डा रहेको मिडियालाई जानकारी दिनुभयो । उहाँका अनुसार बर्तौलाले सदनमा खेलेको भूमिका र आगामी योजनाबारे स्थानीयलाई प्रष्ट पारिएको छ ।

जनताका गुनासो सम्बोधन गर्दै बर्तौलाले भन्नुभयो -ूमेरो स्पष्ट अडान छ— मध्यवर्तीको समस्या समाधान हुनैपर्छ । यसको सिमाना चुरेको डाँडामा सारेर मानव वस्ती र निकुञ्जको बीचमा पर्खाल लगाउनुपर्छ ।

बर्तौलाले मनहरीमा रहेका करिब ११–१२ हजार भूमिहीनहरूको समस्या समाधानका लागि आफूले प्रतिनिधि सभामा कानूनी जटिलता फुकाउन काम गरेको उल्लेख गर्नुभयो । भूमि आयोगमार्फत धनीपुर्जा वितरण गर्ने कानूनी व्यवस्था बनेको छ, गाउँ पालिकाले समयमै लगत संकलन गरेर पठाउनुपर्छ, यसका लागि तपाईंहरूले पनि दबाब दिनुहोला, उहाँले भन्नुभयो ।

भेटघाटका क्रममा एमाले मनहरीका अध्यक्ष नवीन सुवेदीले बर्तौलाकै पहलमा रुपाचुरी–बालुभन्ज्याङ खानेपानी आयोजना अघि बढेको र मनहरी–रुपाचुरी सडकको स्तरोन्नति गर्ने जिम्मा पनि एमालेले लिने बताउनुभयो ।

मनहरी–६ रुपाचुरीकी लक्ष्मी थिंङ र सुनाचुरीका स्थानीयहरूले बर्तौलाले संसदमा जग्गाको धनीपुर्जा र मध्यवर्तीको समस्याबारे आवाज उठाएको भन्दै प्रशंसा गरे । उनीहरूले राप्ती खोलाको तटबन्धन, वस्ती संरक्षण र निकुञ्जको कडा नियमबाट मुक्ति पाउनुपर्ने माग राखेका छन् । रमौलीकी बिमला कार्कीले पनि स्थानीयको मुख्य समस्या मध्यवर्ती नै भएको उल्लेख गर्नुभयो ।

बर्तौलाले आफ्नो अघिल्लो कार्यकालमा प्राप्त दुईवटा बजेटमार्फत खानेपानी, पुर्वी राप्ती तटबन्धन लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको दाबी गर्दै बाँकी अधुरा योजना पूरा गर्न आफूलाई पूर्ण कार्यकालका लागि जिताउन सूर्य चिन्हमा मतदानको अपिल गर्नुभयो । आजको निर्वाचन अभियानमा एमाले नेताहरु बिरेन्द्र डिसी, रामचन्द्र घिमिरे, रघुनाथ लामा, शालिक बानियाँ सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*