पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

प्रतिशोधपूर्ण रुपमा पक्राउ गरियो, कानुनी लडाईं लड्छु : पूर्वप्रधानमन्त्री ओली, ओली र लेखक पक्राउ परेपछि गृहमन्त्री गुरुङले भने -प्रतिसोध होइन न्यायको सुरुवात
जनपत्र
१४ चैत्र २०८२, शनिबार ०६:५२

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवास प्रवेश गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले ओली पक्राउ गरेको पुष्टि गरे । ‘हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नियन्त्रणमा लिएका छौं’ अनलाइनखबरसँग ती अधिकृतले भने ।

उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे ।

उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो । नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

 पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछी ओलीले प्रतशोधपूर्ण पक्राउ भेनका छन् ।

आफूलाई पक्राउ पुर्जी लिएर प्रहरी आएपछि उनले वकिलहरुसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले यस्तो बताएका हुन् । ‘यो पक्राउ प्रतिशोधपूर्ण छ । यसको कानुनी लडाईं लड्छु तपाईंहरू तयारी गर्नुहोस्’ ओलीले वकिलहरूसँग भनेका थिए । उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका थिए ।

गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताएका छन् ।

‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ’, उनले लेखेका छन्, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’

उनले अब देशले नयाँ दिशा दिने पनि बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*