मकवानपुरका १०२ वडामै मतदाता शिक्षा थालिने

जनपत्र
१ फाल्गुन २०८२, शुक्रबार ०८:१९

हेटौंडा / २१ दिनपछि हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत घटाउने उद्देश्यले मतदाता शिक्षा संचालनका लागि प्रदेश निर्वाचन कार्यालय हेटौंडाले अनुगमनकर्तालाई बिहीबार तालिम दिएको छ ।

मकवानपुरका प्रत्येक पालिकाबाट एक/एक जना अनुगमनकर्तालाई तालिम दिएको हो । तालिम प्राप्त अनुगमनकर्ताले आफ्नो पालिकाको प्रत्येक वडावाट एक/एक जनालाई तालिम दिएर फागुन ३ गतेदेखि वडा तहमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिन लागेकाे छ।

प्रत्येक वडाका बालविकास सहजकर्ता वा महिला स्वयंसेविकालाई मतदाता शिक्षा कार्यक्रममा परिचालन गर्न लागिएको हो । मतदाता शिक्षा कार्यक्रमको अनुगमन निर्वाचन कार्यालयबाट तालिम पाएका अनुगमनकर्ताहरुले गर्ने छन् ।

मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि निर्वाचन कार्यालयले फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम संचालन गर्न लागेको छ ।

मकवानपुरका १० पालिकाका १०२ वडामा एक/एक जना मतदाता शिक्षा स्वयंसेवकका रुपमा परिचालन गरिने प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालले बताए ।

स्वयंसेवकले मतदाताको घरबस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रिया बारेमा जानकारी गराउने उनले बताए। मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने निर्वाचन कार्यालयको अपेक्षा रहेको छ ।

मतदातालाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको निर्वाचन कार्यालयका प्रमुख ढकालले बताए । मकवानपुरमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ४ दशमलव ४६ प्रतिशत मत बदर भएको थियो ।

दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुर-१ मा १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । मकवानपुरका कुल मतदाता संख्या ३ लाख १५ हजार ३३४ मा महिला १ लाख ५३ हजार ३७६ र अन्य मतदाता ५ जना रहेका छन् ।  कान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*