बागमती प्रदेशमा आज राष्ट्रिय सभा निर्वाचनः हेटौंडामा मतदान, मतदाता संख्या ३३८ मा झर्‍यो

जनपत्र
१२ माघ २०८२, आईतवार ०७:४८

हेटौंडा — बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयनका लागि आज  निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ।

बागमती प्रदेशका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ। उक्त मतदानस्थलमा २ वटा मतदान केन्द्र राखिएको छ। मतदानस्थलमा घेराबार, मतपेटिका व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन्।

यस निर्वाचनमा बागमती प्रदेशको मतदाता संख्या ९ जना घटेर ३३८ कायम भएको छ। बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार प्रदेश सभा सदस्य ६ जना तथा स्थानीय तहका मेयर ३ जनाले पदबाट राजीनामा दिएपछि मतदाता संख्या घटेको हो।

यसअघि प्रदेश सभा ११० सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २३८ जना गरी कुल ३४८ जना मतदाता हुनुपर्नेमा अन्तिम सूचीमा ३४७ जना मतदाता सार्वजनिक गरिएको थियो। तर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन प्रदेश सभा सदस्य ६ जना र स्थानीय तहका ३ जना प्रमुखले राजीनामा दिएपछि अब ३३८ जनाले मात्र मतदान गर्ने छन्।

राजीनामा दिने प्रदेश सभा सदस्यहरूमा कांग्रेसका १, राप्रपाका १, साबिकको माओवादी केन्द्रका १, साबिकको एकीकृत समाजवादीका १ र एमालेका २ जना रहेका छन्। त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र धुलिखेल नगरपालिकाका मेयरले पनि पदबाट राजीनामा दिएका छन्।

बागमती प्रदेशबाट राष्ट्रिय सभामा एक महिलासहित दुई सदस्य चयन गरिनेछ। यसका लागि महिला समूह र अन्य समूहबाट गरी ६ जनाले उम्मेदवारी दिएका छन्।
महिला समूहतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा, नेकपा की सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीकी कविता महर्जन उम्मेदवार छन्।
अन्य समूहतर्फ एमालेका प्रेमप्रसाद दंगाल, नेकपाका प्रेमप्रसाद सापकोटा र नेमकिपाका विक्रम डुकुछे उम्मेदवार रहेका छन्।

प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ। बागमती प्रदेशमा कुल मतभार ९ हजार ९५८ रहेको छ। मतभारका आधारमा कांग्रेस पहिलो, नवगठित नेकपा दोस्रो र एमाले तेस्रो स्थानमा रहेका छन्।

निर्वाचन आयोगका अनुसार देशभर राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि आज निर्वाचन हुँदैछ। बागमती प्रदेशमा फागुन २० गते पदावधि सकिन लागेका तत्कालीन माओवादी केन्द्रकी गंगाकुमारी बेलवासे र तत्कालीन एकीकृत समाजवादीका वेदुराम भुसालको स्थानमा नयाँ सदस्य चयन हुन लागेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*