बागमती प्रदेशका कृषि मन्त्री पौडेलद्वारा धुलोदुध कारखानाको निरीक्षण

जनपत्र
२८ कार्तिक २०८२, बिहीबार १७:३४

हेटौंडा । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले धुलोदुध कारखानाको निरीक्षण गर्नु भएको छ । बिहीवार प्रदेश सरकारको करिब ४७ करोड रुपैयाँको लागतमा निर्माण भएको भए पनि सञ्चालन कार्यविधि तयार नहुँदा परीक्षण उत्पादनमै सीमित रहेको सो कारखानाको अवस्था बुझ्न मन्त्री पौडेल निरीक्षणमा पुग्नु भएको हो ।

यसअघि, २०८० सालमा नै परीक्षण उत्पादन सुरु भएको यो कारखानाको पूर्ण सञ्चालनका लागि आवश्यक कार्यविधि तथा मोडालिटी तयार गर्ने प्रक्रिया लामो समयदेखि जारी छ ।
निरीक्षणपछि बोल्दै मन्त्री पौडेलले करिब ४७ करोडको लागतमा निर्माण भएको यो धुलोदुध कारखाना अहिले परीक्षण उत्पादनमै सीमित रहेको अवस्थामा रहनु ठूलो लगानी जोखिममा पार्नु भएकोले यसको सञ्चालन मोडालिटी र कार्यविधि तयार पार्ने कामलाई आफूहरूले अन्तिम चरणमा पु¥याएको बताउनुभयो। उहाँले आफ्नो निरीक्षणको उद्देश्य यसको भौतिक र प्राविधिक अवस्था बुझेर, छिटोभन्दा छिटो कार्यविधि तयार गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने सुनिश्चित गर्नु रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री पौडेलका अनुसार यो कारखाना सञ्चालनमा आउँदा प्रदेशभित्र दूधको अधिक उत्पादन भएको बेला किसानले दूध सडकमा पोख्नुपर्ने वा सस्तोमा बेच्नुपर्ने बाध्यताको अन्त्य हुनेछ र यसले दुग्ध किसानलाई उचित मूल्यको सुनिश्चितता प्रदान गरी प्रदेशको कृषि अर्थतन्त्रमा ठूलो टेवा पु¥याउनेछ। उहाँले कारखानामा जडान गरिएका उपकरण, भण्डारण क्षमता र हाल भइरहेको परीक्षण उत्पादनको अवस्थाबारे जानकारी लिएपछि कारखानालाई पूर्ण व्यावसायिक रूपमा सञ्चालन गर्न आवश्यक कार्यविधि छिट्टै स्वीकृत गर्ने बताउनु भएको छ ।

कारखाना स्थापना भएपछि प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कारखानाबाट धुलो दुध परिक्षण उत्पादनका लागि दुग्ध विकास संस्थान डिडिसीलाई जिम्मा दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*