हेटौंडामा जेन–जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्ने ८ जना पक्राउ
हेटौंडा । मकवानपुरमा जेन–जी आन्दोलनका क्रममा व्यक्तिका घर, भाटभटेनी सुपरमार्केट र हेटौंडास्थित विभिन्न सरकारी कार्यालयहरूमा भएको तोडफोड, लुटपाट तथा आगजनी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पछिल्लो दुई सातामा भित्र मात्रै ८ जनालाई पक्राउ गरी हाजिरी जवानीमा छोडेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार यस्ता घटनामा संलग्न समूहहरू हालै सक्रिय देखिएको र तथ्य, प्रमाणका आधारमा क्रमशः नियन्त्रणमा लिइने कार्य भइरहेको छ। यसअघि पनि नियन्त्रणमा लिएकाहरूबाट चोरी गरिएका सामग्री फिर्ता लिने तथा अन्य आवश्यक कारबाही गर्ने काम प्रहरीले गर्दै आएको थियो।
जिल्ला प्रहरी प्रमुख एसपी सुवास चन्द्र बोहोराका अनुसार, “म यहाँ आएपछि मात्र आठ जनालाई पक्राउ गरी हाजिरी जवानीमा छोडिएको हो। व्यक्तिका घर र सरकारी कार्यालय जलाउने तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेहरूविरुद्ध प्रमाण र उजुरी आएमा कडा कारबाही गरिनेछ,” उनले बताए।
उनका अनुसार व्यक्तिको निजी घर, बजार क्षेत्रका संरचना तथा सरकारी कार्यालयहरूमा तोडफोड, आगजनी गर्नेहरूमाथि अब मुद्दा दायर गर्ने तयारी भइरहेको छ। यस प्रकारका हिंसात्मक गतिविधि रोक्न स्थानीय नागरिकलाई पनि सहयोग गर्न आग्रह गर्दै एसपी बोहोरा भन्छन्, “यदि अझै कसैले उजुरी दिन बाँकी छ भने प्रहरीसमक्ष आइदिनुहोस्, कारबाही गर्न हामी तयार छौँ।”
प्रहरीका अनुसार हालसम्म संकलित प्रमाणका आधारमा थप अनुसन्धान जारी रहेको र घटनामा संलग्न अन्य व्यक्तिहरू पहिचान गर्ने कार्य तीव्र बनाइएको छ।






