शारदा माविको स्वर्ण महोत्सवका अवसरमा जिल्लास्तरीय रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिता हुने

जनपत्र
१८ कार्तिक २०८२, सोमबार ०८:२६

मकवानपुर— मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङमा रहेको शारदा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका अवसरमा जिल्ला स्तरीय शिक्षक भलिवल प्रतियोगिता हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा शारदा मावि प्राङगनमा आगामी मंसिर ५ र ६ गते जिल्लास्तरीय रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिता हुने भएको हो। प्रतियोगिताको सम्पूर्ण आतिथ्य तथा व्यवस्थापन शारदा माध्यमिक विद्यालय मकवानपुरगढी–५, आमभञ्ज्याङस्थित जुनियर रेडक्रस सर्कलले गर्ने विद्यालयले जनाएको छ।

जिल्लाभरिका सामुदायिक तथा संस्थागत विद्यालयबीच मैत्रीपूर्ण प्रतिस्पर्धा मार्फत शिक्षक तथा कर्मचारीबीचको खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले भलीबल खेलको आयोजना गरिएको शारदा माविका प्रधानध्यापक इन्द्र बहादुर कार्कीले बताए ।

सहभागीका लागि मापदण्ड

आयोजकका अनुसार प्रत्येक विद्यालयबाट बढीमा १० जना खेलाडी शिक्षक तथा कर्मचारी सहभागी हुन पाउनेछन्। सहभागी खेलाडी २०८२ वैशाख मसान्तसम्म नियुक्ति भएका व्यक्तिहरू मात्र हुनुपर्ने र नियुक्ति पत्रको प्रतिलिपि अनिवार्य रूपमा टिमको नामावलीमा समावेश गरिनुपर्नेछ।
खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियम अनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ। विद्यालयको लेटरप्याडमा प्रअको प्रमाणित नामावली, व्यानरसहितको सामूहिक फोटो तथा आवश्यक कागजात पेश गरिसकेपछि टिम दर्ता मान्य हुने बिद्यालयका शिक्षक अभिभावकसंघका अध्यक्ष नवराज हुमागाईले बताए ।

यदि कुनै विद्यालयका खेलाडीमाथि आपत्ति वा दाबी रहेको अवस्थामा खेल समाप्त भएको ३० मिनेटभित्र प्रमाणसहित रु ३,००० बुझाएर निवेदन दिन सकिने आयोजकले जनाएको छ।

पुरस्कार तथा सुविधा

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयले नगद रु ५० हजार, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछ। द्वितीय हुने टोलीलाई रु ३० हजारसहित शिल्ड, मेडल एवं प्रमाणपत्र र सान्त्वना उपाधि प्राप्त दुई टोलीलाई जनही रु १५ हजारसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट लिफ्टर पुरस्कारस्वरूप नगदसहित मेडल तथा प्रमाणपत्र पाउनेछन्। सहभागी टिमहरूका लागि खान र बस्ने व्यवस्था आयोजक विद्यालयले गर्ने जनाएको छ। टिम दर्ता शुल्क प्रति टिम रु ३,००० रहनेछ।

टिम दर्ता

टिम दर्ता आउँदो मंसिर ४ गते दिउँसो २ बजेभित्र फोन वा इमेलमार्फत गर्न सकिनेछ। सोही दिन दिउँसो ३ बजेपछि खेल तालिका सार्वजनिक गरिनेछ। कुनै टिमका प्रतिनिधि अनुपस्थित हुँदा समेत तालिका प्रकाशनमा असर नपर्ने तथा प्राविधिक कारणले आवश्यक परेमा तालिका हेरफेर गर्न सकिने आयोजक समितिको भनाइ छ।

अभिभावक लोकदोहोरी प्रतियोगिता

यसैबीच, शारदा माध्यमिक विद्यालयले आफ्नो ५०औं वार्षिकोत्सव ‘स्वर्ण महोत्सव’ विशेष बनाउन मंसिर २ गते अभिभावक लोकदोहोरी प्रतियोगिता आयोजना गर्ने जनाएको छ। टोली दर्ता कार्तिक २५ गतेसम्म खुला रहनेछ।

टोली दर्ता शुल्क रु ५०० तोकिएको छ। कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने प्रधानध्यापक कार्कीले बताए ।

एक टोलीमा तीन जना रहने व्यवस्था मिलाइएको छ, जसमा कम्तीमा एक जना अभिभावक अनिवार्य हुनेछन्। वाद्यवादन तथा खाना विद्यालयले उपलब्ध गराउने सूचनामा उल्लेख छ। दुवै कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न विद्यालय तथा रेडक्रस शाखाले सबै विद्यालय र स्थानीय समुदायको सक्रिय सहभागिताको अपेक्षा गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*