पहिरोले हेटौंडा–काठमाण्डौं ओहोरदोहोर गर्ने दुइ वटा सडक अबरुद्ध

जनपत्र
१७ कार्तिक २०८२, आईतवार ०८:१९

हेटौंडा / हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने वैकल्पिक छोटो मार्ग सिस्नेरी–दक्षिणकाली सडक खण्डको ज्यामिरेमा शनिबार अपराह्न पहिरो गएकाले हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध भएको छ ।

केही दिनदेखि लगातार परेको वर्षाका कारणले इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित सडकमा माथिबाट पहिरो खसेकाले सिस्नेरी—दक्षिणकाली सडक अवरुद्ध भएको हो ।

सडकमाथिबाट पहिरो झरिरहेकाले अहिले पन्छाउन सम्भव नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले भने, ‘भोलि बिहान अर्थात् आइतबार बिहानदेखि पहिरो पन्छाउने काम गर्नेछौँ ।’ रात पनि परिसकेको र पहिरो पनि झरिरहेकाले अवरोध पन्छाउन कठिनाइ भएको प्रहरीले जनाएको छ ।

यसैगरी आज बिहान  बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडक खण्डमा बाटोमाथिबाट ठूला ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। घटनाबारे जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट जितपुर मकवानपुरबाट प्रहरीले टोली खटाएर उद्धार तथा सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ।

प्रहरीका अनुसार अवरुद्ध स्थान अस्थायी प्रहरी पोष्ट जितपुरबाट करिब ४ किलोमिटर पूर्व पर्छ। स्थानीय निकायसँग समन्वय गर्दै मेसिन प्रयोगमार्फत ढुङ्गा हटाउने तथा आवतजावत सहज बनाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।

सडक बन्द हुँदा बिहानैबाट यातायात प्रभावित बनेको छ। प्रशासनले आवश्यक सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*