चुनौतीहरूको चाँङमा पत्रकारः अफवाह चिर्दै सत्य समाचार जनतामाझ पस्कनुपर्नेमा जोड

जनपत्र
१५ कार्तिक २०८२, शुक्रबार १६:५४

हेटौंडा । अहिलेको अवस्थामा पत्रकारका चुनौती र सामाजिक सञ्जालमा भ्रामक सूचना बीच सत्य–तथ्य समाचारको जिम्मेवारीका विषयमा अन्तरक्रिया कार्यक्रम आज गरिएको छ । जनपत्र मिडिया प्रा.लि. हेटौंडाको आयोजनामा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा जेन–जी आन्दोलनपछी पत्रकारिता क्षेत्रमा समस्या र चुनौती पनि उत्तिकै बढेको र अहिलेको अवस्थामा बिभीन्न सामाजिक सञ्जालमा आएका भ्रामक खवरहरुलाई सञ्चार माध्यमहरुले चिरेर सत्य समाचार नागरिकलाई पस्कनु अहिलेको आवस्यक्ता रहेको बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महाँसंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरले अहिलेको अवस्थामा पत्रकार झनै जिम्मेवार भएर नागरिकलाई आधिकारिक सूचना प्रदान गर्नुपर्ने बताउनुभयो । अहिलेको अवस्थामा पत्रकारका लागि सरकारपक्ष र नागरिक पक्षबाट पनि निकै चुनौती खेप्नुपरेको उहाँको भनाई छ । तर, पत्रकारले लेख्ने विषयमा भने चुनौतीको सामना गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जालमा अहिले अराजक तत्वहरुले गर्दा थप समस्या भएको र उनीहरुले राखेका फेक समाचारका कारण पनि समस्या बढेको अध्यक्ष मगरले बताउनुभयो । सामाजिक सञ्जालमा आएका नकारात्मक विषयलाई चिर्न जरुरी रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले सामाजिक सञ्जालमा आएका नकारात्मक विषय आम नागरिकले त्यही कुरा पत्याएका छन् । त्यसलाई बुझ्न जरुरी रहेको र सत्य विषय समाचारका माध्यबाट लिन पनि नागरिकलाई आग्रह गर्नुभयो । अहिले पनि फेक समाचारका पछाडी लाग्ने समाजका कारण थप समस्या भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रस्तुतीकरण गर्नु हुँदै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सामाजिक सञ्जालमा गलत सूचना, हल्ला र अपुष्ट समाचार बढेपछि परम्परागत सञ्चारमाध्यमले विश्वसनीयता कायम गर्न कठिन भएको बताउनुभयो ।

तुरुन्त र छोटो रूपमा सूचना चाहने भएकाले मिडियाले समाचारको गहिराइभन्दा गति र ट्रेन्डमा ध्यान दिनुपर्ने दबाब बढेको बताउँदै उहाँले भन्नुभयो–‘अनलाइन माध्यममा निःशुल्क सामग्री र विज्ञापनमा गिरावटले परम्परागत सञ्चार माध्यमका आर्थिक स्रोत घटेका छन्। पुस्ताले बहुआयामिक सूचना स्रोत प्रयोग गर्ने भएकाले मिडियाले तथ्य–जाँचमा अझ कडा मापदण्ड कायम गर्नुपर्ने भएको छ। सामाजिक सञ्जालका समाचार वितरणमै प्रभुत्व जमाएका छन्, जसले परम्परागत माध्यमको पहुँच घटाएको छ।’
अनलाइन प्लेटफर्ममा अभिव्यक्ति स्वतन्त्रताको नाममा अनियन्त्रित सामग्री आउँदा कानुनी र नैतिक दुवै चुनौती बढेको बताउनुभयो ।

बागमती प्रदेशसभाका प्रवक्ता मनोज कुमार गुप्ताले देशका सातै प्रदेशका सरकारका संरचना जलाइएको र बागमती प्रदेशसभा जेनजी आन्दोलनबाट ध्वस्त भएको बताउनुभयो । प्रदेश संरचना र सरकारका राम्रा गरिएका काम बाहिर ल्याउन नसक्दा पनि प्रदेश प्रति जनताको वितृष्णा बढेको बताउनुभयो । प्रदेशसभाले गरेका कामहरुलाई हेर्न जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो–‘प्रदेशसभाले ८२ वटा कानून निर्माण गर्ने भनिएको र हाल सम्म ५० वटा कानून मात्र निर्माण भएको छ । दोस्रो कार्यकालमात २२ वटा मात्र कानून निर्माण भएको छ ।’

प्रदेशसभाको विषयलाई लिएर अरु बाँकी कानून निर्माण किन हुन सकेनन् भनेर प्रश्न उठाउने ठाउँ रहेको उहाँले बताउनुभयो । प्रदेशसभाका संरचनामा आगोलागी हुँदा ३३ करोड रुपैयाँको क्षति भएको उहाँले बताउनुभयो । अब मुख्यमन्त्री कार्यालयको सभाहललाई मर्मत गरेर प्रदेशसभाको बैठक बस्ने तयारी गरिएको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा मकवानपुरका अग्रज पत्रकार रामकुमार एलन, स्वतन्त्र पत्रकार संघका बागमती प्रदेश महासचिब सुरेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष भावना रिजाल, प्रेसचौतारी मकवानपुरका अध्यक्ष सरिता दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी बागमती प्रदेशसभाका रिपेश दाहाल, गंगा कुमारी लामिछाने लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रमको उदेस्यका बारेमा जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईले प्रकाशपार्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*