बेमौसमी वर्षाले मकवानपुरको जनजीवन प्रभावित, किसान चिन्तित

जनपत्र
१४ कार्तिक २०८२, बिहीबार ०८:०४

हेटौंडा । बेमौसमी वर्षाले मकवानपुर जिल्लाको जनजीवन प्रभावित बनेको छ। हिजो बेलुकी देखि मकवानपुर जिल्लामा परेको लगातारको वर्षाले जिल्लाका धेरै स्थानमा क्षति पुर्‍याएको किसानहरूले बताएका छन्।

मनसुन सकिएको भनी किसानले धान भित्र्याउने काम धमाधम गरिरहेका थिए । धेरै किसानले धान काटेर खेतका गहरामा फिजाएका पनि थिए । तर, चुटी सक्न नपाइकन पानी परेकाले उनीहरुले धान भित्रयाउन नपाएको बताएका छन् । पाकेको धान र तरकारी बालीहरूमा ठूलो क्षति पुगेको मकवानपुरगढीका किसान उदय सापकोटा बताउँछन् । विशेषगरी हेटौंडा, मनहरी, थाहा नगरपालिका, मकवानपुरगढी, बकैया र बागमती गाउँपालिका लगायतका ग्रामीण क्षेत्रका किसान वर्षाको मारमा परेका छन्।

मकवानपुरगढी गाउँपालिका–५ का किसान रामबहादुर थापाले भने, “धान काट्ने तयारीमै थियौं, तर एक्कासि वर्षा परेपछि बाली लथालिंग भयो। अहिले भित्र्याउने धान पनि हिलोमा डुबेको छ, हिउँदोमा बेच्ने योजना धरापमा परेको छ।”

त्यस्तै मनहरी गाउँपालिकाको बिभीन्न क्षेत्रमा तरकारी खेती गर्ने किसानहरू पनि चिन्तित छन्। गोलभेंडा, काँक्रो, बोडी र सिमी जस्ता बेमौसमी तरकारीहरू खेतमै सड्न थालेका छन्। स्थानीय किसान मिना थापाले भनिन्, “हामीले बजारमा पठाउने तयारी गरेको तरकारी वर्षाले बिगार्‍यो। खेतमा पानी थामिएपछि रोग फिँजिने डर छ।”

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को असरले देशको पूर्वी तथा मध्य क्षेत्रका धेरै ठाउँमा गएरातिदेखि पानी पर्न थालेको छ । यसको प्रभावले पर्सि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती प्रदेशका धेरै ठाउँहरुमा तथा गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै भरे राति कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँहरुमा तथा गण्डकी र लुम्विनी प्रदेशका धेरै ठाउँहरुमा मध्यम वर्षा तथा बाँकी पहाडी भूभागका थोरै ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा ठूलो हिमपातको साथै कोशी, मधेश, बागमती, लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको छ । पर्सि शनिबारसम्म नै वर्षा र हिमपात हुने तथा यसबाट दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले कोशी, मधेश र बागमतीका सबै जिल्लाहरु तथा दाङ, कपिलवस्तु, रुपन्देही, पूर्वी र पश्चिम नवलपरासी, मुस्ताङ, मनाङ र गोरखा जिल्लामा बढी सतर्कता अपनाउन अनुरोध गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*