मकवानपुरका किसान पानी पर्ने डरले धान भित्र्याउन व्यस्त

जनपत्र
१३ कार्तिक २०८२, बुधबार ०७:४०

हेटौंडा । मकवानपुर जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । मौसम धुम्म परेको र ठुलो पानी पर्ने डरले पनि किसानहरु आफ्ना खेतमा लगाइएको धान भित्रयाउनका लागि व्यस्त बनेका हुन् । लगातारको वर्षा हुने डरका कारण र अहिले छिटपुट रुपमा पानी छिट्याएका कारण पनि किसान धान काट्ने, चुट्ने र भित्र्याउने काममा जुटिरहेका छन् ।

बिशेषगरी हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका, भीमफेदी गाउँपालिका लगायतका क्षेत्रका किसानहरु धान भित्रयाउनका लागि लागिपरेका हुन् ।

चाडपर्वका कारण पाकिसकेको धान समयमा नै भित्र्याउन नपाउँदा बाला झुरिएर झर्ने अवस्था देखिएको र अझ ढिला गर्दा थप क्षति हुने चिन्ताले किसान वर्षालाई बेवास्ता गर्दै हतार हतार धान भित्र्याउन व्यस्त भएको मकवानपुरगढी–५ का किसान श्याम घिमिरेले बताए । कतिपय ठाउँमा काटिसकेको धान सुरक्षित गर्न समस्या भएको छ भने भिजेको धान चिसोका कारण बिग्रन सक्ने भन्दै किसानले चिन्ता जनाएका छन् ।

अहिले भित्र्याएको धान चिसो हुने भएकाले घाम लागेपछि सुकाएर बिग्रनबाट जोगाउन सकिने कृषि विकास कार्यालयका कर्मचारीहरुको सुझाव छ । यसअघि कृषि कार्यालयले आजदेखि वर्षा हुनसक्ने सम्भावना औँल्याउँदै धान काट्नलाई हतार नगर्न आग्रह गरेको थियो । पाकिसकेको बाली भित्र्याउन ढिलो भएको भन्दै कृषि कार्यालयको सुझावको प्रवाह नगरी यहाँका किसान धान भित्र्याउन व्यस्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*