जेन–जी आन्दोलन छानविन आयोगको टोली हेटौंडामा, सरकारी र निजी संरचना जलाउनेलाई कार्बाही गरिनुपर्छ–गौरीबहादुर कार्की

जनपत्र
१२ कार्तिक २०८२, मंगलवार १७:५४

हेटौंडा । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको छानबिन गर्ने अख्तियारी पाएको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेन–जी आन्दोलनमा सरकारी संरचना र निजी घर र संरचना जलाउनेलाई कार्बाही गरिनुपर्ने बताएका छन् ।

आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधिहरु, जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु लगायतकाको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अपराध गर्नेहरुलाई कार्बाहीको दायरामा ल्याउनुपर्ने बताए । अब प्रहरीको मनोबल उच्च बनाउनका लागि सरकार लाग्नुपर्ने कार्कीले बताए ।

गत महिनाको जेनजी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरू सूचना एवं विवरण संकलनका लागि देशव्यापी दौडाहामा लागेका बेला आयोगका अध्यक्ष कार्की भने आज हेटौंडामा आइपुगेका हुन् । आन्दोलनका क्रममा भएका फौजदारी मुद्धाका काम प्रहरीले गर्ने उनले बताए । प्रहरीलाई कानूनी अधिकार भएका काम गर्न बाटो खुल्ला रहेको उनले बताए ।

यसभन्दा पहिलेका पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरुलाई यो आयोगले कुनैपनि पक्षपात नगरीकन काम गर्ने कार्कीले बताए ।  उनले प्रहरीलाई आफ्नो कानुनी अधिकार प्रयोग गरेर अनुसन्धान गर्न आयोगले पहिले नै भनिसकेको र यसमा कुनै ढिलाइ हुन नहुने बताए ।

‘२३ गतेको घटना एउटा आन्दोलनको क्रममा भयो । त्यो छुट्टै घटना हो । तर २४ गतेको घटना आगजनी, लुटपाट र डकैतीसहितको पूरै फौजदारी अपराध हो । यसमा कुनै विवाद छैन ।’ उनले भने, ‘यो घटना सबैले देखेको र आयोगले सोहीअनुसार छानबिन गरिरहेको छ । फौजदारी कसुरको अनुसन्धान गर्ने काम नेपाल प्रहरीको हो। हामीले घटनाको समग्र छानबिन गरी दोषीमाथि अनुसन्धान र कारबाही गर्न सरकारलाई सिफारिस गर्ने हो ।’

आन्दोलनका क्रममा लुटिएका हतियार र जेलबाट भागेका कैदीका सम्बन्धमा वर्तमान कानुन अपर्याप्त रहेको अध्यक्ष कार्कीको भनाई छ । उक्त विषय समाधानका लागि विशेष अध्यादेश ल्याउन सरकारलाई सुझाव दिएको उनले बताए । आयोगले कुनै पनि व्यक्ति वा पक्षलाई हेरेर नभई निष्पक्ष रूपमा काम गर्न प्रतिबद्ध रहेको अध्यक्ष कार्कीले बताए ।

‘भ्रष्टाचारी हो भन्दैमा कसैको घर जलाउन पाइँदैन। अपराधी हो भनेर हामी आफैँले काट्न–मार्न पनि पाइँदैन । त्यसका लागि कानुन छ । कानुनबमोजिम कारबाही हुनुपर्छ,’ उनले भने । उच्च मनोबल राख्ने गरी प्रहरीलाई काम गर्ने वातावरण बनाउन र उनीहरुले गरेका सही कामलाई सबैले समर्थन गर्नुपर्ने उनले बताए ।  आयोगले घटनासँग सम्बन्धित प्रमाण भए उपलब्ध गराएर सहयोग गर्न पनि सबैलाई अध्यक्ष कार्कीले अपिल गरे ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको अवस्थामा सरकार छ भन्ने अवस्था नरहेको बताए । भदौ २३ गतेको आन्दोलन र २४ गतेको तोडफोड, लुटपाट, आगजनीलाई एकै रुपमा लिन नहुने बताए । कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले आयोगका अध्यक्षको एस अघिको स्टाटस र अहिलेको बिज्ञप्तीलेनै निस्पक्ष छानविन हुनेमा संका रहेको बताए ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ लगायतकाले आयोगलाई आफ्ना समस्या र सुझाबहरु दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*