छठ पर्वको मुख्य दिन हेटौंडाको रापती तटमा अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
हेटौंडा । पछील्ला वर्षहरुमा हेटौंडाको रापती छतमा मधेसी र पहाडी समुदायहरु एक आपसमा मिलेर छटपर्व मनाउन थालेका छन् । हेटौंडामा बसोबास गर्ने मधेसी समुदाय र पहाडी समुदायहरुले यो पर्वलाई भव्य रुपमा मनाउने गरेका छन् । हेटौंडाको रापती तटमा आज छट पर्व मनाउका लागि भब्य तयारी गरिएको छ ।
कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ ।
तराई समुदायको उल्लेख्य बसोबास रहेको हेटौँडामा हरेक वर्ष राप्तीतटमा छठपूजा गरिँदै आइएको छ। सोही अनुरुप यस वर्ष पनि हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती नदीको किनारमा भव्य तयारी गरिएको हो। मधेशी समाज मकवानपुरको आयोजनामा हुने छठ पूजाका लागि ६ सय ५० फिट लम्बाइ र २० फिट चौडाईको पण्डाल निर्माण गरिएको छ।
साथै २५ वटा व्यवसायिक स्टलहरू समेत निर्माण गरिएको छ। यस वर्ष करिब ६० हजार भक्तजनहरूको आगमन रहने अनुमान आयोजकले गरेका छन्।
बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।






