मकवानपुरका किसानलाई धान भित्र्याउने चटारो

जनपत्र
३० आश्विन २०८२, बिहीबार ०७:५७

हेटौंडा । मकवानपुरका खेतका फाँटहरू यतिबेला सुनौला बालीले हरियाली गाउँहरूलाई झन् सुन्दर बनाएका छन् । तर यो सुन्दर दृश्य हेर्ने समय किसानसँग छैन । किनभने उनीहरूलाई अहिले धान भित्र्याउने चटारो छ । मनसुन सकिएसँगै खेतका धान परिपक्व भई काट्न उपयुक्त भएपछि किसानहरू बिहान सबेरैदेखि साँझ ढल्केसम्म खेतमै व्यस्त देखिन्छन् ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी, बकैया, मकवानपुरगढी, र थाहा नगरपालिकाका अधिकांश क्षेत्रका किसान अहिले धान काट्ने, मिँज्ने र भित्र्याउने काममा जुटेका छन् । कतिपय ठाउँमा समूह बनाएर एकअर्काको खेतमा पालैपालो सहयोग गर्ने चलन अझै पनि कायम छ ।

मकवानपुरगढी गाउँपालिका–५ का किसान सिताराम तिमल्सीना भन्छन्, “अहिले हरेक घरमा हर्षको माहोल छ, तर आराम गर्न पाउने समय छैन । बिहानदेखि साँझसम्म खेतमै खटिनुपर्छ, वर्षभरको पसिनाको फल यही बेला भित्र्याउने हो ।”

यस वर्ष मनसुन समयमा शुरू भएर उचित वर्षा भएकोले धानको उत्पादन राम्रो हुने किसानहरूको अनुमान छ । धान काटिसकेपछि गोदाममा भण्डारणको तयारी पनि किसानले सुरु गरिसकेका छन् । कतिपय किसानले धान बेचेर आगामी बालीका लागि मल, बिउ र घर खर्चको जोहो गर्ने तयारी गरेका छन् । हेटौंडा–१६ का किसान प्रेम थापा भन्छन्, “मिहिनेत त धेरै गर्नुपर्छ तर खेतमा सुनझैं पाकेको धान देख्दा सारा थकाइ मेटिन्छ । अब मौसम राम्रै रहे भने धान सुख्खा गरी बजार पठाउने तयारी छ ।”

यद्यपि धान भित्र्याउने समयमा किसानलाई श्रमिक अभावको समस्या परेको गुनासो पनि छ । सहरमा काम गर्ने युवाहरू घर फर्किएनन् भने काममा ढिलाइ हुने जोखिम रहेको किसानहरूले बताएका छन् । त्यसैले कतिपय किसानले मजदुर ल्याएर काम गरिरहेका छन्, जसका कारण लागत केही बढेको छ ।

धान भित्र्याउने यस समयलाई किसानहरूले वर्षको सबैभन्दा व्यस्त र महत्वपूर्ण समयको रूपमा लिन्छन् ।
अहिले मकवानपुरका फाँटहरूमा किसानहरूको पसिना र मुस्कान दुवै मिसिएको देखिन्छ । खेतका फाँट र आँगनमा सुनौला धानका थुप्रा सजिएका छन् । वर्षभरको मेहनतको प्रतिफल हातमा आउँदै गर्दा किसानको मुहारमा सन्तोष झल्किएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*