दसैँमा काठमाडौँका सबै नाका बन्द हुँदा पनि नरोकिएको फर्पिङ-कुलेखानी-हेटौँडा सडक कस्तो छ?
हेटौंडा । यही असोज १८ र १९ गते नेपालमा भएको अविरल वर्षापछि पहिरो र नदी कटानले यतिबेला सडकहरू क्षतविक्षत भएका छन्।
राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य राजमार्ग (नारायण-मुग्लिन-काठमाडौँ) सडकसँगै विभिन्न वैकल्पिक सडक पनि यतिबेला बाढीपहिरोले क्षतिग्रस्त छन्।
पूर्वी नेपाललाई राजधानी काठमाडौँसँग जोड्ने बीपी राजमार्गमा गएको एक सातादेखि यातायात ठप्प छ। कान्ति लोकपथसहित अन्य वैकल्पिक सडकमा पहिरो हटाएपछि जेनतेन गाडी चल्न थालेका छन्। तर, पुन: पहिरो खस्नेसहितका जोखिम भने टरिसकेको छैन।
गत वर्ष भदौ १०, ११ र १२ गतेको बाढीपहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्ग यस वर्षको बाढीपहिरोले थप बेकामे बनेको छ।
बीपी राजमार्गको यात्रा अनिश्चित बनेको अहिलेको अवस्थामा राजधानी काठमाडौँबाट पूर्वको यात्राको लागि पनि बल्खु-फर्पिङ-कुलेखानी भिमफेदी-भैँसे हुँदै हेटौँडा निस्कने छोटो दुरीको सडकमा सवारी चाप बढेको छ।
असोज १८ र १९ गतेको बाढी पहिरोले काठमाडौँ प्रवेश गर्ने मुख्य र वैकल्पिक सबै नाका ठप्प हुँदा पनि काठमाडौँबाट हेटौँडा निस्कने झण्डै ८५ किमी लामो यो सडकमा भने तुलनात्मक रुपमा कम क्षति भएको छ। बाढीपहिराेकाे बेला पनि याे सडकमा यात्रा राेकिएन।
दसैँअघि तुइनखोलाको पहिरोले मुग्लिन नारायणगढ सडक अवरुद्ध हुँदा पश्चिम नेपालका विभिन्न जिल्लाको लागि छुटेका साना सवारी साधन पनि फर्पिङ-कुलेखानी-हेटौँडा हुँदै पश्चिमतर्फ गुडेका थिए।
हाल यो सडक भएर पूर्व र मध्य नेपालका सबैजसो जिल्लाबाट दैनिक हजाराैँ निजी र सार्वजनिक सवारी साधन गुडिरहेका छन्। ओखलढुंगा-खोटाङ-सोलुखुम्बु-भोजपुर जस्ता पूर्वी पहाडी जिल्लामा जाने सबैजसो साना सवारी साधन पनि यतिबेला यही सडक भएर गुडिरहेको देख्न सकिन्छ।
दसैँ मनाएर राजधानी फर्किएका यात्रुको कारण अहिले यो सडकमा चार पांग्रे गाडी र माेटरसाइकलकाे चाप थेगिनसक्नु छ। तर, साना सवारी साधन मात्रै गुड्न मिल्ने यो सडकमा चाडपर्वको बेला पनि टिपर गुड्न नरोकिँदा यात्रुले सास्ती पाउने समस्या उत्तिकै छ।
वर्षातको बेला यो सडकमा खसेको धेरै ठाउँको पहिरो अझै पूर्ण रूपमा हटाइएको छैन। जसको कारण केही ठाउँमा दुईतर्फी सवारी सञ्चालनमा समस्या छ।
अहिले पनि याे सडककाे फाखेल-हुमाने-कुलेखानीसहितका विभिन्न स्थानमा पहिरोको अवरोध कायमै छ। केही ठाउँमा मुस्किलले एटा गाडी मात्रै गुड्न मिल्ने गरेर पहिरो पन्छाइएको छ।






