हेटौँडा–काठमाडौँ आवतजावत गर्ने ५ वटै सडक बन्द, काठमाडौँ जाने सवारीसाधन हेटौँडामा रोकिए
हेटौँडा/ निरन्तर भइरहेको वर्षाको कारण बाढी पहिरो जान थालेपछि हेटौँडा–काठमाडौँ आवातजावत गर्ने सबै सडकखण्ड तीनदिनका लागि बन्द गरिएका छन्।
शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रेस विज्ञप्ति जारी गर्दै तीन दिनका लागि हेटौँडा–काठमाडौँ आवतजावत गर्ने पाँचवटै सडक बन्द गरिएको जानकारी गराएको हो।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८ देखि २० गतेसम्म नेपालका विभिन्न भागमा हल्कादेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले मकवानपुर प्रशासनले हेटौँडा हुँदै काठमाडौँ भित्रिने सम्पूर्ण बाटो बन्द गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिइन्।
लगातार वर्षा र पहिरोको जोखिमका कारण मकवानपुर हुँदै काठमाडौं जाने सयौं सवारी साधन हेटौँडामा रोकिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले जारी गरेको सूचनाअनुसार आगामी तीन दिनमा अपेक्षित भारी वर्षा र त्यसपछि उत्पन्न हुन सक्ने पहिरो, बाढी तथा सडक अवरोधका कारण राजधानी काठमाडौं जाने सवारी साधनलाई सुरक्षा कारणले रोकिएको हो।
शनिवार विहानैदेखि निरन्तर वर्षा भइरहेको र हेटौँडाबाट काठमाडौं जोड्ने सडकखण्डमा खतरा बढेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले वडा नम्बर १, चौकिटोलमा सवारी साधन रोकेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौँडाबाट काठमाडौं जोड्ने सडकका विभिन्न स्थानमा ढुंगा खस्ने र पहिरो जाने क्रम बढेकोले सुरक्षा जोखिमका कारण सवारी साधनलाई हेटौँडामै रोकिएको हो।






