बागमती प्रदेश सरकारका भवन पुनर्निर्माण गर्ने ठोस योजना छैन, अस्थायी संरचनाबाट नै तत्काल काम चलाइने
हेटौंडा । जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण ध्वस्त भएका बागमती प्रदेश सरकारका मन्त्रालयहरु र कार्यालय भवन पुनर्निर्माण गर्ने ठोस योजना अझै बनाइएको छैन । आन्दोलनपछिको दुई साता पछी सम्म पनि मन्त्रालय र विभिन्न निकायका कार्यालयले स्थायी पुनर्निर्माणबारे कुनै निर्णय नगरेको मन्त्रीहरु बताउँछन् ।
प्रदेश सरकार स्थापना भएदेखिनै अहिले सम्म कुनैपनि मन्त्रालयको स्थायी संरचना निर्माण गरिएको थिएन । पहिले भएका जिल्ला स्तरका कार्यालयहरुलाई नै मन्त्रालयको रुपमा प्रयोग गरिएको थियो । आन्दोलनका कारण यहाँको प्रदेशसभा सचिवालयका भवनहरु, मन्त्रालयहरु ध्वस्त भएपन ियसको दिर्घकालिन संरचना निर्माण गर्ने तर्फ प्रदेश सरकारको ध्यान गएको छैन ।
अहिले पनि संघीय सरकारले स्वीकृति दिएमा हेटौंडाको हटियामा प्रदेश सरकारको स्थायी संरचना निर्माण गर्नका लागि जग्गा प्राप्तीको चरणमा रहेको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताए ।
हालका लागि तत्काल सेवा प्रवाह अबरुद्ध हुन नदिन अस्थायी संरचनामार्फत काम सञ्चालन गर्ने तयारी गरिएको प्रदेश सरकारकामन्त्रीहरु बताउँछन् । जलेका मन्त्रालय भवन, प्रदेशसभा भवन र विभिन्न सरकारी कार्यालयका कोठा प्रयोग अयोग्य भएकाले अस्थायी भवनहरु, भाडाको घर वा अन्य वैकल्पिक स्थलमार्फत सेवा दिनेगरी काम थालिएको छ ।
जनताको करबाट बनेको संरचना जलेर नष्ट हुँदा ठूलो क्षति भएको भन्दै स्थायी पुनर्निर्माणबारे स्पष्ट खाका बनाउनुपर्ने माग सर्वसाधारणले गरिरहेका छन् । तर बजेट, समय र प्राथमिकताका कारण तत्काल पुनर्निर्माण सम्भव नभएको प्रदेश सरकारको तर्क छ । प्रदेशसभासहितका निकायमा अस्थायी व्यवस्थाबाटै काम चलाइने भएकाले नीतिगत काम र नियमित सेवा प्रवाह भने निरन्तर रहने बताइएको छ ।
जेन–जी आन्दोलनको क्रममा बागमती प्रदेश सरकार मातहतका कार्यालय, भवन, सवारी, जिन्सी गरेर ९० करोड रुपैयाँ भन्दा बढीे सम्पत्तिको क्षति भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको प्रारम्भिक विवरण अनुसार काठमाडौं, चितवन, ललितपुर, भक्तपुर र मकवानपुरका संरचना र सवारीसाधनमा क्षति पुगेको छ ।
सबैभन्दा बढी प्रदेश राजधानीसमेत रहेको मकवानपुरमा रहेका कार्यालय, भवन, सवारी र जिन्सी सामग्रीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले पाँच वटा जिल्लामा गरेर प्रदेश सरकारका २६ वटा कार्यालय र ६० वटा भवनमा क्षति पुगेको जानकारी दिए ।
काठमाडौंमा दुई वटा कार्यालयको ३ वटा भवन, चितवनमा ३ वटा कार्यालयको १० वटा भवन, भक्तपुरको एउटा कार्यालयको दुई वटा भवन, मकवानपुरमा १७ वटा कार्यालयको ४० वटा भवन र ललितपुरको ३ वटा कार्यालयको ५ वटा भवनमा क्षति पुगेको हो ।
भवनतर्फको क्षति रकम ४७ करोड ९३ लाख ५४ हजार रुपैयाँ रहेको मन्त्री तामाङले जनाए । उनकाअनुसार १४२ वटा दुई पाङ्ग्रे र ५३ वटा चार पाङ्ग्रे सवारीसाधनमा क्षति पुगेको छ ।
सवारीसाधनतर्फ २१ करोड ६७ लाख ५५ हजार रुपैयाँ नोक्सान भएको छ । २० करोड ४० लाख ८१ हजार रुपैयाँको जिन्सी सामग्रीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
कार्यालय, भवन, सवारी, जिन्सीसमेत गरेर कूल क्षति रकम ९० करोड १ लाख ९१ हजार रुपैयाँ रहेको छ ।
क्षति भएका भवनको पुनर्निर्माणका लागि बागमती सरकारलाई ७१ करोड ४१ लाख ४० हजार व्ययभार थपिएको मन्त्री तामाङले जानकारी दिए । सरकारले संरचना पुर्नस्थापनाको लागि प्राविधिक अध्ययन गरिरहेको छ ।






