सुशासन‚ पारदर्शिता र जवाफदेहितालाई जनताले महसूस गर्ने गरि काम गरौ–प्रदेश प्रमुख देवकोटा

जनपत्र
३ आश्विन २०८२, शुक्रबार १०:३७

हेटौंडा । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले सुशासन‚ पारदर्शिता‚ मितव्ययिता र जवाफदेहितालाई शिरोपर गरेर आम जनताले प्रत्यक्ष महसूस गर्ने गरि परिणाममुखी काम गर्नुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा संविधान दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । उनले भने–‘हामीले अधिकारभन्दा पहिले कर्तव्यलाई जोड दिनुपर्दछ । इतिहासले सिकाएको पाठलाई ग्रहण गरी सुधारको दिशामा अघि बढ्न सम्पूर्ण व्यक्तित्वहरुमा हार्दिक अपील गर्दछु ।’

नेपाली जनताको अभूतपूर्व बलिदानले प्राप्त संविधान जारी भएको यो महत्त्वपूर्ण दिनले राष्ट्रिय एकता‚ लोकतान्त्रिक मूल्य, शान्तिपूर्ण सहअस्तित्व तथा सभ्य र न्यायमूलक समाज निर्माणमा अघि बढ्न हामी सबैलाई प्रेरित गर्नेछ भन्ने अपेक्षा गरिएको उनले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र‚ जनतामा निहीत सार्वभौमसत्ता र मौलिक अधिकारहरुको सुनिश्चिततालाई आत्मसात गरेको संविधान कानुनी दस्तावेज मात्र नभएर जनभावना प्रस्फुटन गर्ने सजीव प्राणी सरह रहेको प्रदेश प्रमुख देवकोटाले बताए । वर्तमान संविधान न्यायपूर्ण‚ समतामुलक समाज‚ राष्ट्रिय अखण्डता र एकताको पहरेदार रहेको बताए ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ‘जेनजी’ प्रदर्शन पछिको अन्योललाई चिर्दै आगामी निर्वाचनमार्फत देशलाई स्थायित्व र विकासको बाटोमा लैजानुपर्ने बताएका छन् । उनले सङ्घीय अन्तरिम सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, प्रशासन र सुरक्षा संयन्त्र एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुक्रबार हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले शान्ति, सुव्यवस्था, स्थायित्व र समृद्धिको यात्रामा अगाडि बढाउन सबैको भूमिका अपरिहार्य रहेको बताए ।

उनले प्रदेश सरकार मितव्ययी बन्दै सुशासन प्रत्याभूत गराउन केन्द्रित भएको समेत बताए । संविधान प्रदत्त सङ्घीय शासन प्रणालीलाई प्रभावकारी र जनमुखी तवरले सञ्चालन गर्नु प्रदेश सरकारको दायित्व रहेको बताए । प्रदेश सरकारलाई मितव्ययी र नागरिकलाई अधिकतम सेवा सुविधा प्रदान गर्न फजुल खर्च कटौती गर्ने प्रक्रिया सुरु भइसकेको उनले दाबी गरे ।

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले हालै सडकमा देखिएको युवाहरूको आन्दोलन र जनअसन्तुष्टिको जिम्मेवारी प्रमुख राजनीतिक दलहरूले लिनुपर्ने बताएका छन् । उनले दलहरूले आफैँलाई नसच्याए देशले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

संविधान दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालैका युवाहरूको सडक प्रदर्शनको पछाडि कुन शक्ति छ भन्नेतर्फ नलागी त्यो प्रदर्शन हुनुको मुख्य कारण दलहरूको कमजोरी नै भएको स्विकार्नुपर्ने उनको भनाइ छ ।

जम्कट्टेलले देश गम्भीर राजनीतिक संकटमा फसेको बताए । उनले वर्तमान सरकारलाई संविधानले नचिन्ने टिप्पणी समेत गरे ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मकट्टेल लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, सांसदहरु, मन्त्रालयका सचिबहरु, कर्मचारीहरु, बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*