बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले दिए आधिकारिक रुपमा राजीनामा
हेटौंडा । बागमती प्रदेश सभामुख भुवन कुमार पाठकले पदबाट आधिकारिक रूपमा राजीनामा दिएका छन् । उनले मिति २०८२ असोज १ गते प्रदेश सभाका उपसभामुखलाई सम्बोधन गर्दै संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम राजीनामा पत्र बुझाएका हुन् ।
सभामुख पाठकले गत भाद्र २३ गते जेन–जी आन्दोलनको क्रममा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग भई राष्ट्रवादी युवाहरूले ज्यान गुमाउनुपरेको घटनापछि आफू भावविह्वल बनेको उल्लेख गरेका छन् । “राष्ट्र रोइरहेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु अनुचित हुन्छ भन्ने अनुभूति भयो,” पत्रमा भनिएको छ ।
पाठकले भाद्र २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामा गर्ने घोषणा गरेका थिए तर प्राविधिक कारणले तत्काल कानुनी प्रक्रिया पूरा गर्न नसकेको स्पष्ट गरेका छन् । उनको राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री तथा प्रदेश सभा सचिवालयलाई समेत अवगत गराइएको छ । यससँगै बागमती प्रदेश सभाको सभामुख पद खाली भएको छ र नयाँ सभामुख चयनको प्रक्रिया अब अघि बढ्नेछ ।







