मकवानपुरका सरकारी कार्यालय र बिद्यालयहरु खुल्दै
हेटौंडा । मकवानपुरका नागरिकका लागि सेवा दिन सकिने अवस्थाका सरकारी कार्यालयहरु आजबाट सञ्चालनमा आउने भएका छन् । जेन–जी को आन्दोलनका कारण ध्वस्त भएका सरकारी कार्यालय भन्दा बाहेकका कार्यालयहरु आजबाट सञ्चालनमा आउने भएका हुन् ।
भदौ २४ गतेको आन्दोलनका कारण जलेका कार्यालयहरु खुलेपनि सेवा दिने अवस्थामा रहेका छैनन् । जुन कार्यालयहरु आन्दोलनकारीको आगजनीबाट बचेका छन् ती कार्यालयहरुबाट सेवा दिइने बताउँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले भनिन–‘आन्दोलनका कारण जलेका कार्यालयहरुबाट सेवा दिनका लागि समस्या छ र अरु बचेका कार्यालयहरुबाट आजबाट सेवा दिन्छौ । सेवा दिने अवस्थामा नरहेका कार्यालयहरु खुलेपनि नागरिकका लागि सेवा भने सुचारु हुँदैनन् ।’ जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पनि आजबाट नियमित रुपमा काम गरिने भएको प्रजिअ श्रेष्ठले बताइन ।
मकवानपुरका दश वटै स्थानीय तहमा रहेका वडा कार्यालयहरु, स्थानीय तहहरु जुन कार्यलयमा आन्दोलनका कारण आंसिक रुपमा क्षति भएको छ र सेवा दिनका लागि सहज छ ती कार्यालयहरुबाट पनि आज देखि सेवा सुरु गरिने भएको छ । बागमती प्रदेशका मन्त्रालय र मातहतका कार्यालय जुन निजी घरमा भाडामा लिएर सञ्चालन भएका छन् ती कार्यालयहरुमा आन्दोलनका कारण कम क्षति भएको छ ती कार्यालयहरु पनि आजबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
यसैबिच मकवानपुरका सरकारी तथा निजी बिद्यालयहरु आजबाट सञ्चालन हुने भएका छन् । जेनजीको आन्दोलनका कारण बन्द भएका बिद्यालयहरु आजबाट नियमित रुपमा पठनपाठन सुरु हुने भएको छ । आन्दोलनबाट मकवानपुरका कुनैपनि बिद्यालयमा क्षति पुगेको छैन । त्यसैले पनि बिद्यालयहरुमा नियमित रुपमा पढाइ हुने भएको हो ।






