बागमती प्रदेश सभा बैठकमा श्रेष्ठको अभिव्यक्तिः “ प्रधानमन्त्री ओलीको दृढ अडानको प्रशंसा”
हेटौंडा – नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक एका लाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति देखाउनुभएको दृढ अडानप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ।
बागमती प्रदेश सभाको आज बसेको बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक श्रेष्ठले भारतीय र चिनियाँ पक्षबीच लिपुलेक नाका हुँदै आवतजावत गर्ने सम्झौताप्रति प्रधानमन्त्री ओलीले प्रकट गर्नुभएको कडा आपत्तिलाई नेपालको पक्षमा ऐतिहासिक कदमका रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो, “महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अंग हुन्। नेपालको सहभागिता र सहमति बिना लिपुलेक पासमार्ग हुँदै भारत–चीन व्यापारिक सम्झौता किमार्थ स्वीकार्य छैन। यसले नेपालको सार्वभौमसत्तामाथि अतिक्रमण गरेको छ, जसलाई सच्याउन प्रधानमन्त्रीले दह्रो स्वरमा आग्रह गर्नुभएको छ।”
श्रेष्ठले नेपालको भौगोलिक अखण्डताको रक्षामा राजनीतिक नेतृत्वले देखाएको साहसलाई ऐतिहासिक जिम्मेवारीको निर्वाहका रूपमा व्याख्या गर्नुभयो। उहाँले प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभाग नेपालकै भएको स्पष्ट पार्नु राष्ट्रिय हितका लागि महत्वपूर्ण कदम भएको बताउनुभयो।






