मकवानपुरमा २१२ किलो गाँजा बरामद
मकवानपुर। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ च्यानडाँडास्थित भित्री जंगलको बाटोबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार आज बिहान करिब १ः५० बजे प्रहरी चौकी बसामाडीबाट खटिएको टोलीले जंगलतर्फबाट गाँजा बोकेर ल्याउँदै गरेको समूह देखेपछि घटनास्थलमा पुग्दा ७८ जना मानिसहरूले बोकेको भारी फालेर फरार भएका थिए।
उक्त स्थानमा छाडिएको गाँजा बरामद गरी तौल गर्दा २१२ किलो ८६० ग्राम भएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सुरक्षित राखिएको र फरार व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।







