बागमती प्रदेशका नागरिकका समस्याका चाँङः संसदमा नागरिकका कुरा गरेपनि सरकारले नसुनेको सांसदको गुनासो
हेटौंडा । बागमती प्रदेशसभाका सांसदहरु समक्ष आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले समस्यानै समस्याका चाँङ राखेका छन् । जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा संसदीय निगरानीका लागि बागमती प्रदेशका विभिन्न सवालहरुको पहिचान सम्वन्धी कार्यशालाका अवसरमा नागरिकहरुले आफ्ना क्षेत्रका बिबिध समस्याहरु राखेका हुन् ।
प्रदेशका सांसद मार्फत सरकार समक्ष आफ्ना क्षेत्रका समस्याहरु राखुन भन्ने उदेस्यले यहाँका अधिकारकर्मी, नागरिकसमाज, गैरसरकारी संस्था, सामुदायिक वन, टोल विकास संस्था, सञ्चारकर्मीहरुले आफ्ना क्षेत्रमा परेका बिबिध समस्याहरु सांसदहरु समक्ष राखेका छन् ।
कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशसभाका उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले नागरिकका पहुँचका आधारमा होइनकी आवस्यक्ताका आधारमा सरकारले उनीहरुका निम्ती काम गर्नुपर्ने बताउनुभयो ।
सदनमा रहुन्जेल सम्म आफुहरुले जनताका विषयलाई उठान गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो–‘जनताबाटनै निर्वाचित भएर आएकाले उनीहरुकै लागि हामीले काम गर्ने हो । सरकारका प्रतिनिधीहरु समितिमा राखेर समेत छलफल गर्ने निर्देशन दिने गरिएको तर, त्यस अनुसार काम हुन सकेको छैन ।’

एचआइभी संक्रमित, प्रभावितहरुका धेरै खालका समस्याहरु छन् । उनीहरुका समस्याहरुलाई आफुहरुले न्यूनीकरण गर्न लागिपरेको बताउनुभयो । अहिलेको अर्को समस्या भनेको कुकुरले टोक्दा लगाउने रेविजको सुइ समेत सरकारी अस्पतालमा नपाउँदा थप समस्या भएको बताउनुयभयो । जनताले अपेक्षा गरे अनुसार काम गर्न नसकेको स्वीकार गर्दै उहाँले भन्नुभयो–‘जनताका यावत समस्याहरु छन् । हामीले सदनमा उठाएका पनि छौ । तर, कार्यान्वयन सरकारले कार्यान्यन गर्दैन । सुन्य समय, बिशेष समयमा बोल्ने क्रममा नागकरिकका समस्याहरु उठाउने गरिएको छ ।’
सभापति श्रेष्ठले अहिले स्थानीय तह र प्रदेशमा ‘ओभर स्टाफिङ’को समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘जनप्रतिनिधि निर्वाचित भएपछि नै कर्मचारी भर्ना गरिएको छ, जुन नागरिकले तिरेको करबाट चल्छ । यस्तो संरचनाको न्यूनीकरणमा हामीले ध्यान दिनुपर्छ । हामी नागरिकसँग कति पुग्छौँ होला वा नागरिक स्वयं हामीकहाँ कति आउँछन् होला ? यो प्रवृत्तिलाई हामीले बदल्नुपर्छ । केही गैरसरकारी संस्था र घरानाहरू यति शक्तिशाली छन् कि उनीहरूले सत्ताको उलटफेर गर्न सक्छन् । कानुन उनीहरूलाई हेरेर बनाउने कि समग्रतामा हेरेर बनाउने ? यो गम्भीर प्रश्न हो । हामीले एचआईभी एड्स संक्रमित व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ । यो समस्या न्यूनीकरण गर्ने जिम्मा राज्य र हाम्रो हो । तर, त्यो दिशामा हाम्रो राज्य अगाडि बढ्न सकेको छैन ।’
देशमा गम्भीर विषयहरूमा छलफल हुनु आवश्यक छ, तर हामी प्रायः भावनात्मक र टालटुले कुराहरूमा अल्झिन्छौँ। राजनीतिमा ‘कन्भिन्स गर कि कन्फ्युज पार’ भन्ने गरिन्छ। नागरिकलाई सही कुरामा सहमत गराउन गाह्रो हुन्छ, तर भ्रममा पारेपछि सबै खुसी देखिन्छन्। जबसम्म सही कुरा पत्ता लाग्दैन, मानिसहरू अलमलमा परिरहन्छन्। यो समस्या राजनीतिक दलदेखि जनप्रतिनिधि र संघसंस्थासम्म सबैतिर व्याप्त छ। त्यसैले, अब हामीले नयाँ ढङ्गले सोच्ने र अगाडि बढ्ने प्रयास गर्नैपर्छ। यस्तो प्रयास गर्दा आलोचनाहरू पनि हुन सक्छन्, तर त्यसलाई स्वीकारेर अघि बढ्नुपर्छ।’ उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो–‘हामीले साना–साना समस्याहरू समाधान गर्दै गयौँ भने मात्र ठूला समस्याहरू समाधान गर्न सक्छौँ। ठूला कुरा गर्ने तर साना काम नगर्ने प्रवृत्तिको अन्त्य गर्नु आजको आवश्यकता हो। यसका लागि हामी सबैको भूमिका महत्त्वपूर्ण छ ।

बागमती प्रदेशसभाका सदस्य भारती पाठकले आजको कार्यक्रम कुनै एउटा विषयमा मात्र केन्द्रित नभएर समग्रमा सबै क्षेत्रका मुद्दा र समस्याहरू वास्तविक धरातलमा के–कस्ता छन् भन्ने सन्दर्भलाई प्रतिनिधिमूलक ढङ्गबाट प्रस्तुत गरिएको बताउनुभयो ।
यहाँहरूले जुन विषय उठाउनुहुन्छ, त्यसले हामीलाई सदनमा कुरा राख्नका लागि ताजा र सान्दर्भिक मुद्दाहरू प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले यसअघि पनि विपद् व्यवस्थापनसम्बन्धी मुद्दाहरूबारे स्थलगत रूपमै छलफल चलाएका थियौँ र ती विषयलाई सदनमा उठान पनि गरेका थियौँ। कार्यक्रमबाट हामीले महत्त्वपूर्ण पृष्ठपोषण प्राप्त गरेका छौँ। मलाई लाग्छ, प्रदेश सरकारले काम गर्दै जाँदा सबै कुरा पूर्ण भइसकेको छ भन्ने होइन। हामीले अझै धेरै कुरा सुन्नुपर्ने, धेरै विषयमा आफैँले आयोजना गरेर अन्तरक्रिया गर्नुपर्ने र मुद्दाहरू उठाउनुपर्ने आवश्यकता छ।’
उहाँले भन्नुभयो–‘जति गर्नुपर्ने हो, त्यति हुन सकेको छैन होला, तर जनताका र जनसरोकारका विषयहरू उठाउने कुरामा हामीले कन्जुस्याइँ गर्नुभन्दा पनि अझै कस्ता विषयहरू उठाउन सकिन्छ भनेर जनतासँगै सोधेर अघि बढ्ने गरेका छौँ।’

कतिपय जानकारी र मुद्दाहरू पत्रकार र सञ्चारमाध्यममा छिटो पुग्ने भएकाले हामी नजिकका मिडियाकर्मी साथीहरूसँग पनि छलफल गर्ने गरेको बताउनुभयो । सबै ठाउँमा पुग्न नसकिएका र मिडियामा आएर ठोक्किएका विषयहरूलाई हामीले सोधखोज गरेर सदनमा उठाउने गरेको सांसद पाठकले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘हाम्रो समिति, अर्थात् उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा हामी छौँ। यहाँ उठेका विषयहरू हामी सांसदहरूका लागि साझा सरोकारका विषय हुन्। कुनै एउटा समिति छान्नुपर्ने भएकाले हामीले यो समिति छानेका हौँ, तर जनसरोकारका सबै मुद्दाहरू हामी सबैले उठाउनुपर्छ । सबै कानुन बन्ने प्रक्रियामा हामी ती विषयमा जानकार हुनुपर्छ भन्ने मलाई लाग्छ। यहीअनुरूप हामीले यी मुद्दाहरू उठाइरहेका छौँ।’
अपाङ्गताको विषयमा कुरा उठाउनुभयो, जुन एकदमै जायज छ। हामीले निरन्तर रूपमा यस्ता विषयहरू सदनमा उठाएका छौँ। अब नीति र कानुन बनाउने सन्दर्भमा पनि यसबारे छलफल गरिरहेका छौँ। छिटोभन्दा छिटो प्राथमिकतामा पर्नुपर्ने विषयमा कानुन बन्नु मात्र ठूलो कुरा होइन; त्यो कानुन जनमुखी भयो कि भएन? जनसरोकारका विषयहरू त्यसमा सम्बोधन भए कि भएनन्? यो विषय झनै महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।
आम नागरिकलाई निराश नहुन आग्रह गर्न गर्दै सांसद पाठकले भन्नुभयो–‘हामी त्यही पृष्ठभूमिबाट आएकाले जनता, समुदाय, महिला, दलित, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिहरू सबैको अधिकार र कर्तव्यको विषयमा मुद्दा उठाउन पछि पर्दैनौँ। हामीबाट त्यस्तो त्रुटि हुनेछैन भन्ने मलाई लाग्छ। यहाँ उठाइएका विषयहरू हामी तीन जनालाई मात्र भनिएको होइन; बागमती प्रदेश सभामा रहनुभएका ११० जना सदस्य सबैले उठाउनुपर्ने र जिम्मेवार बन्नुपर्ने विषयहरू हुन्।’
हामी यी विषयलाई सशक्त ढङ्गले उठाउनेछौँ। विपद्को सन्दर्भमा, हालैको बागजोराको घटनाले ठूलो छलफल र बहस सिर्जना गरेको छ। बागमती प्रदेशलाई लक्षित गरेर बनाइएका सडकहरू धेरै छन्, तर भौगोलिक हिसाबले सुरक्षित यात्राको अवस्था नहुँदा वैकल्पिक मार्ग र दिगो समाधान कसरी खोज्ने भन्नेबारे हाम्रो संसदमा छलफल हुने बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य धनेश्वरी प्रजापतिले प्रदेश स्थापना भएको लगभग आठ वर्ष हुन लाग्यो, तर यहाँको अवस्था हेर्दा पार्टीभित्र गुटबन्दी, दलभित्र उपगुटबन्दी र एकले अर्काको खेदो खन्ने प्रवृत्तिले गर्दा नागरिकका विषयमा चासो कम गएको बताउनुभयो ।
अहिले आम जनता आज निराशाको छायामा रहेको बताउँदै उहाँले भन्नुभयो–‘सरकार लामो समय नटिक्ने र एकपछि अर्को सरकार बनाउने खेलले जनतामा प्रदेश सरकारप्रतिको विश्वास मर्दै गएको छ । आफ्ना मान्छेलाई जागिर खुवाउने, नियुक्ति दिने र अनुदान बाँड्ने प्रवृत्ति मौलाएको छ । यस्तो गलत प्रवृत्तिका विरुद्ध मैले प्रदेश सभामै आवाज उठाएको थिएँ। हजारौँ नेपालीको बलिदानबाट आएको गणतन्त्रको जग आज हल्लिरहेको छ। हाम्रो गणतन्त्र यति कमजोर भयो भनेर सोच्दा पनि दुःख लाग्छ ।’
जनतालाई कसरी सुसूचित गर्नेे भन्ने विषयमा हाम्रो ध्यान पुग्न नसेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘जबसम्म हामी यसरी लाग्न सक्दैनौँ, तबसम्म हामीले ल्याएको बजेट, नीति र कानुनको कार्यान्वयन राम्रोसँग हुन सक्दैन। मलाई जनताले प्रश्न गर्छन्, “तपाईं माननीय होइन? तपाईंले के काम गर्नुभयो?“ मसँग उहाँहरूलाई सन्तुष्ट पार्ने जवाफ छैन। तैपनि म खुलेरै भन्छु, म समानुपातिक सांसद हुँ, मलाई त्यति धेरै बजेट दिइँदैन। ५०–६० लाख बजेट दिइन्छ, त्यो बजेट पनि निकै धाएर बल्लतल्ल ल्याउनुपर्ने अवस्था छ। जहाँ हे¥यो, त्यहाँ बिचौलियाको राज छ, न्याय पाउनै मुस्किल छ।’

वास्तवमा, तपाईंहरू जस्ता अनुभवी पत्रकारहरूको अगाडि म ’इन्द्रको अगाडि पहाड’ जस्तै हुँ। हामी सिक्ने क्रममै छौँ। पदमा आएपछि बिस्तारै बुझ्दै जाँदा कार्यकाल नै सकिने रहेछ। सुरुमा हेटौँडा आउँदा मन्त्री बन्छु कि भन्ने आश थियो, तर यहाँको राजनीति हेर्दै जाँदा त्यो भ्रम टुट्यो। यहाँ त तुरुन्तै बैठक स्थगित गर्ने, राति ११ बजे बैठक राख्ने जस्ता अनौठा काम हुन्छन्। नीति–नियम बनाउने ठाउँमै यस्तो भद्रगोल भएपछि जनताले के आशा गर्ने? सांसद प्रजापतिले भन्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले बागमती प्रदेश सरकारका स्थायी संरचना नबन्दा नागरिकहरुले समस्या बेहोरी रहेको बताउनुभयो । आठ वर्षको अवधिमा पनि अस्थायी संरचनाबाट काम गर्ने र अस्थायी संरचना निर्माण गर्नका लागि करोडौ रुपैयाँ खर्च गर्ने परिपाटी राम्रो नभएको बताउनुभयो । पारिवारिक निजी वन केन्द्रीय महासचिब आरती पाठकले वनमा आधारित रहेर उद्याम गर्ने नागरिकलाई प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले प्रदेश सरकारले नागरिकका लागि भन्दा पनि आफ्ना स्वार्थका कानून निर्माण गरिरहेको बताउनुभयो ।
गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटाले गैसरकारी संस्थाहरुलाई उपेक्षा गर्नेगरी सरकारले कानून निर्माण गरेकोमा विरोध गर्नुभयो ।
राष्ट्रिय अपाङ्ग महाँसंघ मकवानपुरका अध्यक्ष गणेश चन्द्र दवाडीले सरकारले आफ्ना समस्याहरु नसुनेकोले अब सांसदहरुले पनि आवाज उठाइदिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, हिमराइट्स मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाइवा, मकवानपुर महिला समुहका अध्यक्ष कमला सुवेदी, एकल महिला समुह मकवानपुरका अध्यक्ष शारदा चौलागाई (बन्जरा), टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाका सचिब चन्द्रावती पनेरु लगायतकाले आफ्ना क्षेत्रका बिबिध समस्याहरु राख्नु भएको थियो । कार्यक्रममा मकवानपुरका बिभीन्न सामाजिक संघ संस्थामा आवद्ध प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।






