बागमती प्रदेशले ९ वटा पालिकामा ९ वटा कृषि उपज बजार केन्द्र निर्माण गर्ने

जनपत्र
१४ भाद्र २०८२, शनिबार १२:०९

हेटौंडा / बागमती प्रदेशले ९ वटा पालिकामा ९ वटा कृषि उपज बजार केन्द्र निर्माण गर्ने भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पालिकाको साझेदारीमा सूचना प्रविधिमा आधारित कृषि उपज बजार केन्द्र स्थापना गर्न लागेको हो ।

पालिका स्तरमा कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यका साथ पहिलो चरणमा प्रदेशका ९ वटा स्थानीय तहमा कृषि उपज बजार केन्द्र स्थापना हुन लागेको हो । चालु आव २०८२र०८३ मा दोलखाको भीमेश्वर नगरपालिका, सिन्धुलीको गोलन्जोर गाउँपालिका, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र चितवनको माडी नगरपालिकामा कृषि उपज बजार केन्द्र स्थापना गरिनेछ । यसैगरी धादिङको थाक्रे गाउँपालिका, ललितपुरको बागमती गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, काठमाडौंको नागार्जुन नगरपालिका र शंखरापुर नगरपालिकामा पहिलो चरणमा कृषि उपज बजार केन्द्र स्थापना गर्ने मन्त्रालयले जनाएको छ ।

कृषि उपज बजार केन्द्रमा चारवटा आधारभूत विषयहरु अनिवार्य रहने मन्त्रालयका प्रवक्ता सुजन कँडेलले बताए । केन्द्रहरुमा सूचना प्रविधिमा आधारित प्रणाली अनिवार्य रहनेछ । प्रत्येक बजार केन्द्रमा एक चिस्यान केन्द्र र विषादी अवशेष परीक्षण प्रयोगशाला अनिवार्य रहनेछ । कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स, ढुवानी सवारी साधन को व्यवस्था गरिनेछ ।

नौ वटा पालिकामा केन्द्र स्थापनाका लागि चालु आवमा ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा स्थानीय तहको ३० प्रतिशत लागत र बाँकी प्रदेशको सशर्त अनुदान बजेट समावेश गरिने मन्त्रालयले जनाएको छ । कार्यक्रमले कृषि उपज बजारीकरण समस्या समाधान हुने मन्त्रालयको अपेक्षा छ । कार्यक्रमका लागि हाल मन्त्रालयले कार्यविधि निर्माण गरी प्रक्रियामा रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*