बागमतीका मुख्यमन्त्री बानियाँले भने–‘तपाईहरुको भोटको सम्मान गर्दै जनमुखी काम गर्छु
मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताको भोटको सम्मान गर्दै जनमुखी काम गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश मुख्यमन्त्री नियुक्त भएपछि पहिलो पटक आफू निर्वाचित क्षेत्रमा आयोजित ओैपचारिक कार्यक्रममा सहभागी बानियाँले गरिबमुखी, जनमुखी, आयमुखी र न्यायमुखी काम गरी प्रदेशको समग्र विकासमा काम गर्ने अठोट व्यक्त गरेका हुन् ।
मुख्यमन्त्रीको निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर २ ९ख० स्थित मनहरी गाउँपालिकाले बुधबार आयोजना गरेको मुख्यमन्त्रीको स्वागत तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा बोल्दै बानियाँले आफ्नो निर्वाचन क्षेत्रका जनताको भावना र मर्मलाईसमेत मध्येनजर गर्दै निष्पक्ष ढंगबाट जिम्मेवारी पूरा गर्ने बताए । मलाई प्रदेशसभा सदस्य निर्वाचित गराउन मनहरीका जनताले पनि ठुलो योगदान गरेका छन् । यस भेगका जनताले विश्वास गरेर जिताएकै कारण म मुख्यमन्त्री बन्न सकेँ अब यस भेगका सबै जनताको आवश्यकतालाई मध्यनजर गरी यो वा त्यो पार्टी नभनी विकास गर्नु मेरो कर्तव्य हो । बानियाँले भने । मनहरी गाउँपालिकाको लामिटार चकरी मकरी सडकलाई विशेष प्राथमिकता दिई कालोपत्रे गर्नुका साथै अन्य पुल तथा सडक र अन्य पूर्वाधार विकासमा पनि आफूले ध्यान दिने बानियाँले विश्वास दिलाए । महिलाहरुको महान पर्व हरितालिका तीजलाई सभ्य भव्य र सुसंस्कृत ढङ्गले मनाउन पनि बानियाँले सुझाव दिए ।
गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, खानेपानी उर्जा तथा सिञ्चाई मन्त्री कृष्णकुमार तामाङलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमकैबीच मनहरी गाउँपालिकाले आफ्नो क्षेत्रबाट निर्वाचित सांसद बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै बधाई ज्ञापनसहित सम्मानपत्रसमेत गरेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाली काँग्रेसकी प्रतिनिधि कमला मैनालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । मुख्यमन्त्री बानियाँले बुधबार नै मनहरी स्थित आफ्नो निर्वाचन क्षेत्रमा रहेको सम्पर्क कार्यालयमा पुगी आम नागरिकका समस्या र गुनासा सुनेका थिए । बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँज्यूको आफ्नो निर्वाचन क्षेत्र मकवानपुर संघीय क्षेत्र नम्बर २ को प्रदेशसभा ख स्थित मनहरी बजारमा रहेको सम्पर्क कार्यालयमा निर्वाचन क्षेत्रका जनताहरुसंग, बधाई, शुभकामना, छलफल तथा भेटघाट कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभातकुमार तामाङ, खानेपानी, उर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङको विशेष उपस्थिति रहेको थियोे ।






