‘चुडेल’ जसले सयौं मानिसको ज्यान बचाइन्

जनपत्र
१७ आश्विन २०७६, शुक्रबार ०६:३९

हातहातमा धारिला हतियारहरु बोकेको मानिसको भिडले जूरा कारुहिंबीको घर घेरे । उनको घरभित्र शरण लिएका व्यक्तिहरुलाई बाहिर निकाल्ने ती हतियारधारीको माग थियो, तर त्यस समयमा जूरासँग कुनै हतियार थिएन् । उनी निःशस्त्र थिइन् । उनको साथमा केवल जादुको शक्ति मात्र थियो ।

यही शक्तिका कारण हतियारधारी मानिसहरुको मनमा उनीप्रति एक किसिमको डर उत्पन्न भएको थियो, जसका कारण उनको घरभित्र ज्यान बचाउन लुकेका सयभन्दा बढी मानिसको ज्यान बच्यो । यो घटना रुवान्डामा भएको नरसंहारको थियो । १९९४ मा सुरु भएको नरसंहारमा रुवान्डाका तुत्सी समुदायका करिब आठ लाख मानिसको मृत्यु भएको थियो ।मारिएका यी आठ लाख मानिसमा केही हुतु समुदायका व्यक्तिहरु पनि थिए र कारुहिंबी हुतु समुदायकी महिला थिइन्, यो नरसंहारमा उनको छोरा र छोरीको पनि हत्या भएको थियो ।

नरसंहारकाे समयमा हुतु समुदाय

यो नरसंहार भएको दुई दशकपछि दुई साना कोठा भएको घर जहाँ उनले ती मानिसहरुको ज्यान बचाएकी थिइन्, त्यही घरमा द इस्ट अफ्रिकनसँग कुरा गर्दै उनले भनेकी थिइन् ‘त्यो दिन मैले मानिसभित्रको राक्षसीपनलाई देखे ।’

गएको सोमबार रुवान्डाको राजधानी किगालीदेखि पूर्व करिब एक घन्टाको दुरीमा रहेको मासुमो गाउँमा कारुहिंबीको मृत्यु भयो । कसैलाई उनी कति वर्षकी थिइन् भन्ने थाहा छैन् । आधिकारिक दस्तावेजमा उनको उमेर ९३ वर्ष लेखिएको छ, तर उनले आफू सय वर्षभन्दा बढी बाँचेको बताएकी थिइन् । कारुहिंबीको बारेमा धेरै कथाहरु लेखिएका छन् ।

उनी एक पारम्पारिक वैद्य परिवारमा १९२५ मा जन्मिएकी थिइन् । उनको जन्मसाल आधिकारिक परिचय पत्रबाट लिइएको हो । १९९४ को घटना कारुहिंबीको बाल्यकालदेखि नै जोडिन सुरु भएको थियो ।

१९२२ देखि रुवान्डामा बेल्जियमको उपनिवेश सुरु भएको थियो । यो उपनिवेशले रुवान्डाका मानिसलाई दुई समुदाय ९हुतु र तुत्सी० मा विभाजन गरी परिचयपत्र दियो । यसपछि दुई समुदाय विभाजित भए र शक्ति संघर्ष सुरु भएपछि उत्पन्न भएको हिंसाले विश्व इतिहासमै अत्यन्त दर्दनाक र भयानक कथा बनाउन पुग्यो ।

कारुहिंबीको परिवार रुवान्डाको बहुसंख्यक हुतु समुदायका थिए तर अल्पसंख्यक तुत्सी समुदायका मानिसलाई उच्च वर्गीय मानिन्थ्यो र यही कारण बेल्जियमको शासनकालमा नोकरी र व्यापारमा यही समुदायको प्रभाव थियो ।

बहुसंख्यक हुतु र अल्पसंख्यक तर शक्तिशाली तुत्सी समुदायबीच तनाव सुरु भयो । रुवान्डामा भएको हुती क्रान्तिपछि १९५९ मा तुत्सी राजा किगेरी पञ्चम र उनका दस हजार तुत्सी समर्थकलाई छिमेकी राज्य युगान्डामा शरण लिन पर्यो ।

पछि १९९४ मा हुती राष्ट्रपति जुवेनाल हेब्यारिमानाको विमान खसालेपछि तुत्सीविरुद्ध हिंसा शुरु भएको थियो । तर कारुहिंबीले हिंसा देखेको यो पहिलो पटक भने थिएन् । यो समुदायबीच पटक पटक तनाव भइरहन्थो । तर उनलाई तुत्सी र हुतुबीचको तनावले यति ठूलो रुप लिन्छ भन्ने कुनै अनुमान थिएन् । आफ्नो ज्यान बचाउन हुतु मानिसले तुत्सी समुदायका पत्निलाई पनि मार्न सुरु गरेका थिए ।

हिंसा सुरु भएपछि मुसामो गाउँमा कारुहिंबीको घर तुत्सीको लागि आश्रयस्थल बनेको थियो । नरसंहारको क्रममा यहाँ तुत्सीमात्र होइन बुरुन्डी र अन्य तीन युरोपियन नागरिकले समेत यहाँ शरण लिएका थिए ।

केही मानिस उनको खाटमुनि लुकेका थिए भने केही छतमा बनाइएको गोप्य ठाउँमा ज्यान बचाउन पुगेका थिए । केही मानिसका अनुसार कारुहिंबीले आफ्नो खेतमा गड्ढा बनाएर समेत तुत्सीलाई लुकाएकी थिइन् । कारुहिंबीका अनुसार उनले मारिएका आमाको पिठ्युबाट निकालिएका बच्चाहरुलाई समेत जोगाएर राखेकी थिइन् । तर उनले कतिजना मानिसहरुको ज्यान बचाइन् भनेर ठ्याक्कै संख्यामा भन्न सकिने तथ्य भेटिएको छैन् ।

नरसंहारको बीस वर्षमा उनले रुवान्डाका पत्रकार जीन पिएरेसँग आफ्नो लागि त्यो समय निकै खतरापूर्ण रहेकाले कति जना मानिसहरु शरण लिएका थिए त्यो नगनेको बताएकी थिइन् । पिएरे भन्छन् ‘जुरासँग हतियारको नाममा उसको कथित जादुको शक्तिमात्र थियो । उनले मिलिसियालाई आफूले शरण दिएका मानिसलाई केही गरेमा आफ्नो शक्तिको माध्यमबाट मिलिसियाको परिवारलाई नष्ट गर्ने चेतावनी दिएकी थिइन्, ।

जुराका अनुसार उनले शरीरमा जलन उत्पन्न गराउने एक स्थानीय बुटी आफूसँग लिने गर्थिन र हतियारधारीलाई त्यो बुटी छुवाउने गर्थिन्, जसका कारण उनीहरु आक्रमण गर्न डराउँथे । कारुहिंबीले बचाएका व्यक्तिमध्ये हसन हाबियाकारे भन्छन् ‘जुराको घरभित्र पवित्र स्थलमा कदम राखे उनीहरुसँग न्याबिंगी ९स्थानीय भाषामा इश्वर० रिसाउँछन् र सबैको अन्त्य गर्नेछन्, भन्दै उनले मिलिसियालाई डराउन दिन्थिन् । उनीहरु डराउँथे र हाम्रो ज्यान अर्को एक दिनको लागि बच्थ्यो ।’

कारुहिंबीले २०१४ मा द इस्ट अफ्रिकनसँग भनेकी थिइन् ‘मलाई याद छ, एक दिन शनिवार उनीहरु आए, मैले धेरै तरिकाले उनीहरुलाई रोके, चेतावनी दिए कि कोही मेरो घरमा आए इश्वरले उनीहरुको हत्या गरेर आफ्नै हातले चिहानमा गाड्ने छन् ।’ कारुहिंबीको यो चेतावनीले काम गर्यो । १९९४ को जुलाईमा तुत्सी नेतृत्ववाला विद्रोहीले राजधानी किगाली कब्जा गरेर धेरैको हत्या गरे र पनि कारुहिंबीको घरमा शरण लिने सबै व्यक्तिहरुको ज्यान बच्यो ।

कारुहिंबीले हिंसामा छोरालाई गुमाइसकेकी थिइन्, छोरीलाई पनि विष पिलाइएको थियो । तर पनि केही मानिसहरु रुवान्डाको यो घटनामा विश्वास गर्दैनन् । २०१४ मा भएको एक साक्षात्कारमा उनले आफू भगवानमा मात्र विश्वास राख्ने र जादुको शक्ति भनेर झुक्याएर मानिसहरुको ज्यान बचाइरहेको बताएकी थिइन् । आफू शक्तिशाली महिला नभएको र कुनै जादु समेत आफूसँग नभएको उनी स्वीकार्छिन् ।

कारुहिंबीलाई २००६ मा क्याम्पेन अगेन्ट्स जेनेसाइड मेडलबाट सम्मानित गरिएको थियो । मानिसहरुले उनी अब सानो गाउँबाट निस्किएर विश्वमै ति दर्दनाक दिनमा आफूले देखाएको बहादुरीको कथा सुनाउने अपेक्षा गरेका थिए । एक हुतु महिला भएरपछि तुत्सीको ज्यान बचाउन उनले निकै बहादुरी देखाएकी थिइन् । पत्रकार पिएरे भन्छन् ‘उनले अरुको ज्यान बचाउन आफूलाई खतरामा धकेलिन्, निःशस्त्र रहेकी कारुहिंबीले चलाखीपूर्ण ढंगले हतियारधारी ठूलो समुदायलाई नरसंहार गर्नबाट रोकेकी थिइन् । ’

कारुहिंबीको जीवनको यो घटनाले विश्व समुदायलाई एउटा उत्कृष्ट पाठ सिकाउँछ कि जस्तोसुकै कठिन समयमा पनि मानवता जिउँदो रहन्छ ।
एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*