व्यावसायीहरुको हितका निम्ती काम गर्न मेरो उम्मेदवारी–महासचिब पदमा उम्मेदवार श्रेष्ठ
मकवानपुर उद्योग वाणिज्य संघ ५९ वर्षको गर्विलो इतिहास बोकेको एउटा अविछिन्न उत्तराधिकारीवाला संस्था हो । यसले मकवानपुरका व्यवसायीहरुको आस्था, भरोसा र विश्वास बटुल्दै आम नागरिकको समेत भावनाको प्रतिनिधित्व गर्दै आएको छ । ब्यवसायीहरुको हक अधिकार, पेशागत मर्यादा र ब्यवसायिक सुरक्षाका निम्ती संस्थाको भूमिका अग्रणी रहँदै आएको छ । यो संस्थाको नेतृत्व लिने आंकाक्षा राख्दै प्रमोद सिंह रानाभाटको टिमबाट महासचिब पदको उम्मेद्वार प्रतिमा श्रेष्ठ चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँसंग मकवानपुर उद्योग वाणिज्य संघको चुनावी सन्दर्भमा केन्द्रीत रहेर गरिएको संक्षिप्त कुराकानी ।
मकवानपुर उद्योग वाणिज्य संघको महासचिब पदको उम्मेदवार बन्नुभएको छ, ब्यवसायीको विश्वास जित्नेमा कत्तिको आशाबादी हुनुहुन्छ ?
मेरो पारिवारिक पृष्ठभूमि पोल्ट्री व्यवसाय हो । श्री श्रेष्ठ सप्लायर्स, संन्सारी पोल्ट्री हाउसमा आबद्ध भएको २० वर्ष भएको छ । यो २० वर्षमा मैले ब्यवसायिक सफलता मात्र होइन थुप्रै अनुभव बटुलेको छु । सामाजिक संघसस्थाको नेतृत्व लिएको छु । यसबिचमा आफ्नै ब्यवसाय स्थापना गरेको छु । शिवशक्ती होम गोल्ड कम्पनी सञ्चालन गरेर बाटेको धुप, कोन धुप बनाई बिक्री गरिरहेको छु । मेरो निजी लगानीमा स्थापना भएको कम्पनिमा अहिले २० जना महिलाले रोजगारी पाउनुभएको छ । यो संख्या अझै बढ्नेछ ।
मैले कुखुरा ब्यवसायी संघ मकवानपुरको सचिब, महासचिब, बरिष्ठ उपाध्यक्ष र कार्यबाहक अध्यक्षको भूमिका कुशलता पुर्वक निर्वाह गरेको छु । यी भूमिकामा मैले प्राप्त गरेको सफलता अहिले मलाई ब्यबसायीहरुले विश्वास गर्ने प्रमुख आधार हुन् । मकवानपुर उद्योग वाणिज्य संघको सदस्यमा एक कार्यकाल काम गरिसकेको छु । अघिल्लो कार्यकालमा मेरा अग्रज दाजु प्रमोद सिंह रानाभाटसंघ उद्योग तर्फको उपाध्यक्षमा प्रतिस्पर्धा गरे थोरै मतले उपविजेता बने । संयोगले अहिले म प्रमोद दाइकै टिमबाट महासचिब बनेकी छु । मेरो ब्यवसायिक सफलता र सामाजिक संघसंस्थामा यसअघि निभाएको भूमिका नै ब्यवसायीहरुको मन र विश्वास जित्ने आधार हुन् । म ढुक्क छु यसपटक मलाई सबै ब्यबसायीहरुको माया र साथ छ । अहिलेपनि धेरै ब्यवसायीहरुले मलाई हौसला र प्रेरणा दिईरहनुभएको छ । संस्थाका पुर्व अध्यक्ष ज्युहरुको आर्शिबाद पाएको छु ।
मकवानपुर उद्योग वाणिज्य संघको महासचिब पदमा प्रमोद सिंह रानाभाटको टिमबाट उम्मेद्वार बन्नु भएको छ, महिला भएकै कारण उम्मेद्वार बन्न कति चुनौतीको सामाना गर्नुभयो र ?
नेपाल उद्योग वाणिज्य महासंघकै अध्यक्षमा आदरणीय दिदी भवानी राणाले नेतृत्व गरिसक्नुभएको छ । महिला सभामुख, प्रधानन्यायधिश, मुख्यसचीब र राष्ट्रपति भईसकेको हाम्रो सामाजिक पृष्ठभूमी छ । मेरो आफ्नै सामाजिक पृष्ठभूमीले पनि मलाई सहज बनाएको छ । म सामाजिक संघसंस्थाको नेतृत्वको रुपमा सफल भई स्थापित भईसकेको छु । सर्वोत्तम सञ्चीती बचत तथा ऋण सहकारी सचिब, ग्रामिण बहुउद्देश्यीसहकारी संस्था लि। को सहसचीब, सचिब र अध्यक्षको कार्यकाल सफलता पुर्वक सम्पन्न गरीसकेको छु ।
हेटौँडा लेडी जेसिजमा महासचिब, कार्यकारी उपाध्यक्ष, बर्ष २०२१ अध्यक्ष हुँदा उत्कृष्ट अध्यक्षको अबार्ड जित्न सफल भए । १६१ वटा शाखामध्यबाट छनौट हुँदा म उत्कृष्ट भएको हुँ । जेसिजमा विभिन्न क्षेत्रगत अवार्डबाट सम्मानित भएको छु । अहिले म मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको सचिबको भूमिकामा कृयाशील छु । नेवारी समुदायको संस्था नेवादेय दबु हेटौँडा उपमहानगरको संयोजकको भूमिकामा छु । मेरो सामाजिक सक्रीयता मकवानपुरका लागि नौलो होईन । अघिल्लो पटकको निर्वाचनमा आदरणीय प्रमोद दाइसंगको प्रतिस्पर्धामा मैले पाएको मतले पनि मैले टिममा सहजै विश्वास जितेको हुँ ।
ब्यवसायी माझ तपाईको प्रतिबद्दता के के छन् ?
हामीले हाम्रो टिमको साझा छलफलबाट हाम्रो प्रतिबद्धता बनाएका हौँ । प्रमोद सिंह रानाभाटको नेतृत्वको प्यानलको प्रतिबद्धता बनाउँदा मेरो समेत सक्रीय भूमिका रहेको छ । यसका आधारमा भन्नुपर्दा ब्यवसायीका पेशागत सुरक्षा र पेशागर्दा ब्यवसायीले सामाना गर्ने समस्या समाधान नै हाम्रो साझा लक्ष्य हुनेछ । म आफै पनि महिला ब्यवसायी पभएको हुँदा हामीले उद्यमी महिलाहरुलाई प्रोत्साहन गर्नेगरी काम गर्ने योजना बनाएका छौँ ।
हाम्रो टिम सबै दृष्टिकोणले उत्कृष्ट बनेको छ । टिम छनौट गर्दा छुटेका बस्तुगतसंघबाट प्रतिनिधीत्व ल्याउने योजना बनाएका छौँ मकवानपुरको समग्र विकासमा स्थानीय, प्रदेश र संघीय सरकारसंग यस संघले समन्वयकारी भूमिका निर्वाह गर्नेछ । ब्यवसायीका साझा समस्या समाधान गर्न सरकारी कार्यालयहरुसंग हाम्रो संस्थागत सम्बन्धका आधारमा हामी समस्या समाधान गर्नेछौँ । ब्यबसायीको अहित हुने कुनै गतिबिधी हुन दिनेछैन । मकवानपुर उद्योग वाणिज्य संघमा आबद्द ब्यवसायीहरुले यस संस्थाको सदस्यको परिचय दिँदा उहाँहरुको शीर उँचो हुनेगरी हामी यस संघको गरिमा बढाउने छौँ ।
महासचिबमा तपाईको पतिस्पर्धी पुरुष हुँदा कस्तो अनुभव महशुश गर्नुभएको छ ?
मैले यसअघिको निर्वाचनमा अग्रज दाइसंग प्रतिस्पर्धा गरेको हुँ । महिलाको प्रतिस्पर्धा महिलासंग मात्रै हुनुपर्छ भन्ने होईन । महिला पुरुषभन्दा कमजोर हुन्छन् भन्ने मान्यता अहिलेको समाजमा छैन । त्यसअर्थ पनि यो प्रतिस्पर्धालाई मैले सामान्य रुपमा हेरेको छु । छोरी भएर जन्मनु मेरो कमजोरी होइन । समाजमा कुनै पुरुषले गर्ने सामाजिक भूमिका भन्दा मेरो भूमिका कमजोर हुँदैन ।
म त अनुभवले खारिएको छु । पहिलो पटक सामाजिक संघसंस्थाको नेतृत्वमा आउन खोजेको होइन नि । दर्जनौँ संघसंस्थामा आबद्ध भएर परिपक्वता हासिल गरेर यहाँ आइपुगेको हो । मेरो ज्ञान, शीपक्षमता यस संस्थाको उन्नयनमा लगाउने छु । मलाई ब्यवसायी, महिला उद्यमीका समस्या र समाधानका उपायहरुका बारेमा राम्रो ज्ञान छ । हाम्रो टिम पनि सशक्त छ । यसकारण सबै ब्यवसायीलाई हाम्रो टिमका पक्षमा मतदान गर्न म विनम्रता पुर्वक आग्रह गर्दछु ।