मकवानपुरबाट ६ हजारभन्दा बढी लागूऔषध डाईजेपामसहित चार भारतीय नागरिक पक्राउ

जनपत्र
१२ श्रावण २०८२, आईतवार १६:४०

हेटौंडा । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मकवानपुरको कुलेखानी क्षेत्रमा साढे छ हजारभन्दा बढी एम्पुल लागूऔषधसहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको सुरक्षाकर्मीको टोलीले कुलेखानी हुँदै काठमाडौं प्रवेश गर्ने तयारीमा रहेको भारतीय नम्बर प्लेटको स्कारपियो रोकेर चेकजाँच गर्दा सो परिमाणको लागूपदार्थ बरामद भएको हो।

गएराती इलाका प्रहरी कार्यालय भिमफेदी र सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन बेस कुलेखानीबाट खटिएको टोलीले इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानीस्थित सडक खण्डमा भारतको द्यच्ण्छएब्ढण्ढघ नम्बरको स्कारपियो गाडी रोकेर खानतलासी गरेको थियो। सुरक्षाकर्मीलाई शंका लागेपछि गाडीमा रहेका चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिँदै गाडीको बिस्तृत चेकजाँच गरिएको थियो।

गाडीभित्र विभिन्न स्थानमा फल्स बटम बनाई लुकाइएको अवस्थामा डाईजेपाम २ हजार २२६ एम्पुल, नुर्फिन २ हजार ३५६ एम्पुल, प्रोमेथाईजिन हाईड्रोक्लोराइड १ हजार ८६१ एम्पुल, साथै ट्रामाडोल नामक ट्याबलेट ४९ थान फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। जम्मा ६ हजार ४४३ एम्पुल लागूऔषधसहितको यो बरामदगी हालसम्मकै ठूलो संख्यामा पर्न गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

पक्राउ परेका चारै जना व्यक्ति भारतको बिहार राज्य, मोतीहारी जिल्लास्थित सुगौली क्षेत्रका हुन्। पक्राउ पर्नेमा २४ वर्षीय शेख गुल्जार, २५ वर्षीय बसिम अहमद, १९ वर्षीय नेसाब आलम र ४३ वर्षीय शेख सकुत रहेका छन्। उनीहरू सबै सुगौली गाउँपालिका अन्तर्गत विभिन्न वडामा बसोबास गर्दै आएका छन्।

गाडीको विभिन्न भागमा निकै योजनाबद्ध ढंगले फल्स बटम बनाइ लुकाइएको लागूऔषध देख्दा उनीहरू यसअघि पनि तस्करीमा संलग्न रहे–नरहेका भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले लागूऔषध काठमाडौं पुर्‍याउने उद्देश्यले नेपाल प्रवेश गरेको स्विकारेको जनाइएको छ।

लागूऔषध नियन्त्रण ऐनअनुसार उनीहरूविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुर स्रोतले जानकारी दिएको छ। लागूऔषध कहाँबाट ल्याइएको हो, नेपालभित्रका कस–कसलाई वितरण गर्ने योजना थियो, या तस्करीको यो नेटवर्कमा नेपाली नागरिक संलग्न छन् कि भन्नेबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको प्रहरीले स्पष्ट पारेको छ।

पछिल्लो समय भारत–नेपाल सीमावर्ती क्षेत्रहरू हुँदै लागूऔषध तस्करीका गतिविधि बढ्दै गएका छन्। विशेष गरी भारततर्फबाट नेपाल भित्रिने लागूऔषध काठमाडौं लगायतका सहरमा पु¥याउने प्रयास भइरहेका छन्। यसै सन्दर्भमा प्रहरीका अनुसार लागूऔषध तस्करहरूले सवारी साधनको बनावट परिवर्तन गरेर तस्करीका नयाँ तरिका अपनाउँदै गएका छन्।

सुरक्षा निकायका अनुसार लागूऔषध दुर्व्यसनका कारण मुलुकमा किशोर–किशोरी र युवाहरू नराम्रोसँग आकर्षित भइरहेका छन्। तस्करी नियन्त्रण र आन्तरिक बजारमा यसको आपूर्ति रोक्नका लागि सीमाक्षेत्रको निगरानी कडा बनाइएको प्रहरी स्रोतको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*