इटलीको एउटा गाउँमा १२५ रुपैयाँमै घर
इटलीमा गएर बस्नु कैयौँ व्यक्तिहरुका लागि सपना हुनसक्छ । तर अहिले इटलीको द्वीप सिसिलीको एक नगर परिषद्ले विदेशीहरुलाई त्यहाँ गएर बस्न मद्दत र प्रोत्साहन गरिरहेको छ ।
यो खास गाउँमा बस्नका लागि एक यूरो अर्थात् झण्डै एक सय २५ नेपाली रुपैयाँ भए पुग्छ । सिसिलीको ग्रामीण इलाकाको गाउँ सम्बुकाका अधिकारीहरुले सन् २०१९ मा लगातार कम भैरहेको जनसंख्याको समस्यालाई रोक्नका लागि एउटा खास योजनाको घोषणा गरेका हुन् ।
उनीहरुले गाउँमा खाली रहेका पुराना घरलाई मात्र एक युरोमा बेच्ने घोषणा गरेको हो । युरोपका कैयौँ साना शहर र गाउँमा जस्तै सम्बुकामा पनि समयसँगै जनसंख्या निकै कम हुँदै गयो । यहाँका मानिसहरु नजिकैको शहर या विदेशमा बस्न गएपछि अहिले यो गाउँको जनसंख्या मात्र पाँच हजार आठ सयको हाराहारीमा छ ।
यही अवस्थालाई मध्यनजर गर्दै सम्बुकाको नगर परिषद्ले पुराना खाली रहेका घर खरिद गरेर विश्वभरका मानिसहरुलाई नगण्य मूल्यमा बेच्ने फैसला गरेको हो, यसबाट कारण नयाँ मानिसहरु यहाँ बस्नका लागि आकर्षित गर्न सकिने उनीहरुको अपेक्षा छ ।







