प्लाष्टिक नियन्त्रणमा सक्रिय हेटौंडा र डिभिजन वन कार्यालय मकवानपुर

जनपत्र
१९ असार २०८२, बिहीबार ०८:१५

हेटौंडा । बिहानको चिसो हावामा हरियो रुखको फेदमा पसारिएको प्लाष्टिकको झोला उठाउँदै १५ वर्षीया बालिका सरिता तिमल्सीना भन्छिन्, “हामीले हाम्रो स्कुल प्लाष्टिकमुक्त बनाउने संकल्प गरेका छौं।” उनको संकल्प मात्र होइन, यसलाई सम्भव बनाउने साझा प्रयासमा जुटेका छन्— हेटौंडा उपमहानगरपालिका र डिभिजन वन कार्यालय मकवानपुर।

यी दुई निकायको सहकार्यले मकवानपुरको वातावरणीय चित्रमा परिवर्तन ल्याउने आशा पलाएको छ। ‘प्लाष्टिकमुक्त समुदाय, स्वच्छ शहर’ भन्ने नारासहित नगरको केन्द्रदेखि वन क्षेत्रसम्म फैलिएको यो अभियान आज एउटा सशक्त उदाहरण बन्दै गएको छ। प्लाष्टिक नियन्त्रणका लागि धेरैजसो प्रयासहरु भएको र बिद्यालय स्तरमा, सामुदायिक वनको स्तरमा चेतनामुलक काम गर्ने र होडिङबोर्डहरु राख्ने लगायतका कामहरु गरिदै आएको डिभिजन वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत बशन्तराज गौतम बताउँछन् ।

प्लाष्टिकको विकराल समस्या

हेटौंडा बजार, विद्यालय, मन्दिर, वन र खोलानाला सबैजसो क्षेत्रमा प्लाष्टिक फोहोरको मात्रा दिनप्रतिदिन बढ्दै गएको थियो। सस्तो, सहज र एकपटक उपयोगमा आउन सक्ने प्लाष्टिकजन्य सामग्रीको अत्यधिक प्रयोगले वन्यजन्तु र जैविक विविधतामा असर पार्न थालेको थियो। यही स्थितिलाई नियन्त्रण गर्न अब सधैंझैंको सामान्य सचेतनामात्र होइन, नीति, व्यवहार र समन्वयको ठोस खाका बनाइएको हो।

वन कार्यालयको हरित मोही

डिभिजन वन कार्यालय मकवानपुरले ‘प्लाष्टिक फ्री सामुदायिक वन’ अभियान चलाउँदै चुरे क्षेत्रका सामुदायिक वनहरूमै प्लाष्टिक निषेध घोषणा गर्न थाल्यो। यसका लागि विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरूलाई तालिम दिइयो, प्लाष्टिक संकलनको जिम्मेवारी दिइयो, र पुनःप्रयोग गर्न सक्ने ठाउँसम्म पठाउने संयन्त्र बनाइयो।

त्यसैगरी, विद्यालयस्तरमा पर्यावरण शिक्षा कार्यक्रम सञ्चालन गर्दै प्लाष्टिकजन्य सामग्रीको खतराबारे सचेत गराउन थालियो। वन क्षेत्रमा घुम्न आउने व्यक्तिहरूलाई पनि प्लाष्टिक नल्याउन अनुरोध गर्दै चेतावनी बोर्डहरू राखिएको छ।

उपमहानगरपालिकाको कदम

हेटौंडा उपमहानगरपालिकाले प्लाष्टिकमुक्त नगर बनाउने घोषणा गरेको थियो । सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, पसल तथा होटलहरूमा प्लाष्टिक प्रयोग गर्न निषेध गरिए पनि कार्यान्वयनमा भने समस्या छ ।

उपमहानगरले ‘एक घर–एक कपडा झोला’ अभियान सञ्चालन गर्दै हजारौं झोला वितरण गरिसकेको थियो। बजार क्षेत्रमा दैनिक अनुगमन गरी ४० माइक्रोनभन्दा कम प्लाष्टिक विक्रेतालाई जरिवाना तथा चेतावनी दिने कार्य निरन्तर भइरहेका छन्।

सहकार्यले बढायो प्रभाव

वन कार्यालय र उपमहानगरपालिकाको सहकार्यले अभियानलाई अझ प्रभावकारी बनाएको छ। विद्यालयस्तरमा स्काउट, रेडक्रस र वाल क्लबमार्फत ‘प्लाष्टिक फ्री बिद्यालय’ अभियान चलेको छ। सामुदायिक वन क्षेत्रको सुरक्षासँगै त्यहाँको वातावरणीय सन्तुलन पनि कायम राख्ने प्रयास भइरहेको छ।

चुनौती अझै बाँकी

तर समस्या पुरै समाधान भइसकेको भने होइन। अझै केही व्यापारी प्रतिबन्धित प्लाष्टिक बेचिरहेका छन्। संकलित प्लाष्टिकको रिसायक्लिङ वा पुनःप्रयोग गर्नुपर्ने पूर्वाधारको अभाव छ।

दण्डात्मक कारबाहीमा स्थानीय राजनीतिक हस्तक्षेप हुँदा कार्यान्वयन कमजोर भएको गुनासो पनि छ। तथापि, यी सबैका बीचमा जनसहभागिता र सरकार–समुदायको सहकार्यले आशा जगाएको छ।

भविष्यको बाटो

अब उपमहानगरपालिका र वन कार्यालय निजी क्षेत्रसँग सहकार्य गर्दै प्लाष्टिक पुनःप्रयोग उद्योग स्थापना गर्ने तयारीमा छन्। स्कुलको पाठ्यक्रममा प्लाष्टिकविरोधी सामग्री थप गर्ने र उत्कृष्ट काम गर्ने टोल–समूहलाई सम्मानित गर्ने योजना पनि अघि सारिएको छ।

हेटौंडामा बिहानको उज्यालो टुट्न नपाउँदै, टोलटोलमा सिट्ठी फुक्दै ट्याक्टरमा नगरका गल्लीहरूमा कर्मचारीको चहलपहल सुरु हुन्छ। केही प्लास्टिक झोलामा फोहोर बटुलेका, केही हातमा डस्टबिन बोकेका तिनले पुरै उपमहानगरलाई झट्ट हेर्दा सफा राख्न हरदिन लडिरहेको आभास हुन्छ। हेटौंडा उपमहानगरपालिकाले दैनिकजसो फोहोर संकलन गर्ने व्यवस्थालाई हाल निकै व्यवस्थित बनाउँदै लगेको छ।

जनसंख्या र फोहोरको अनुपात

हेटौंडा उपमहानगरपालिका बागमती प्रदेशको राजधानी सहर हो। यहाँको जनसंख्या करिब दुई लाख हाराहारी छ। नगरभित्रका १९ वटै वडाबाट दैनिक ३५ देखि ४० मेट्रिक टन फोहोर संकलन हुने गरेको छ। यसको ठूलो हिस्सा घरायसी कचरा, प्लास्टिकजन्य वस्तु, होटल–रेस्टुरेन्टको जैविक फोहोर र निर्माणजन्य फोहोर रहेको नगरपालिका स्रोतले बताउँछ।

वडास्तरमै फोहोर संकलन

उपमहानगरले हरेक वडामा ‘वडा–आधारित फोहोर संकलन टोली’ गठन गरेको छ। वडास्तरमै ट्रिपर, रिक्सा र ठेलागाडीद्वारा बिहानैदेखि घर–घरमा फोहोर संकलन गरिन्छ। फोहोरको प्राथमिक वर्गीकरण जैविक र अजैविक घरमै गर्न नगरले आह्वान गर्दै आएको छ।

फोहोर थुपार्ने होइन, व्यवस्थापन गर्ने चुनौती

संकलन त भइरहेको छ, तर व्यवस्थापन भने जटिल विषय बन्दै गएको छ। हाल उपमहानगरपालिकाको मुख्य फोहोर निष्कासन स्थल हेटौंडा–१० स्थित रापती खोलाको किनारमा डम्पीङ साइड बनाइएको छ। तर सो क्षेत्र पूर्वाधार, वैज्ञानिक व्यवस्थापन र सुरक्षाको हिसाबले असहज बन्दै गएको छ।

नगरका जनप्रतिनिधहरु भन्छन् “हामी फोहोर केवल थुपार्ने होइन, त्यसलाई व्यवस्थापन गर्न खोजिरहेका छौं। रिसायक्लिङ, कम्पोष्ट उत्पादन र वर्गीकरणमा जानुपर्छ भन्ने सोचसहित योजनाहरू अघि बढेका छन्।”

रिसायक्लिङ र कम्पोष्टिङको प्रयास

नगरपालिकाले हाल फोहोरको स्रोतमै वर्गीकरण गर्ने अभियान सञ्चालन गरिरहेको छ। किचन फोहोरबाट कम्पोष्ट मल बनाउन प्रयोगशाला परीक्षण गरिएको छ। साथै, नवीकरणीय प्लास्टिकजन्य फोहोरलाई निजी रिसायक्लिङ उद्योगहरूसँग समन्वय गर्दै बेपत्ता पार्ने काम भइरहेको छ।

उपमहानगरका अनुसार दैनिक संकलित फोहोरको झन्डै ५० प्रतिशत जैविक हुन्छ, जसलाई कम्पोष्ट मलमा रूपान्तरण गर्न सकिनेछ। बाँकी ३० प्रतिशत प्लास्टिक र २० प्रतिशत अन्य अजैविक वस्तुहरू हुन्।

जनचेतना अभिवृद्धिमा जोड

फोहोरको व्यवस्थापन केवल नगरपालिका वा श्रमिकको काम मात्र होइन, यो सम्पूर्ण नगरवासीको दायित्व हो भन्ने सन्देश फैलाउन नगरले विशेष जनचेतना अभियान थालेको छ। स्कुल, टोल विकास संस्था, उद्योग वाणिज्य संघ, होटल संघ सबैलाई समेटेर प्रशिक्षण, पोस्टर अभियान, सडक नाटक लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*